Logo

मलाई सरकारबाट कुनै अप्ठ्यारो छैन,सधैं म पदमा रहनुपर्छ भन्ने पनि होईनः कुलमान घिसिङ (भिडिओसहित)



काठमाडौं, २ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले कुनै असहयोग नगरेको स्पष्ट पारेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारसँग समन्वय गरेर नै काम भइरहेको बताएका हुन् । कार्यकारी निर्देशक घिसिङले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दिपक खड्काको राम्रो सहयोग रहेको बताए ।

‘कुनै अप्ठ्यारो छैन । प्रोफेस्नल्ली काम गर्ने हो । उहाँहरुले पनि नबुझेको ठाउँमा हामीबाट बुझ्ने र उहाँहरुले बुझेको कुरा हामीलाई निर्देशन दिने हो । सबैको संयुक्त प्रयासले परिणाम दिने हो । यो पद भनेको मलाई ठूलो कुरा भएन । पदसँग जोडिएर म यहाँ बसेको छैन । म सधैं विद्युत प्राधिकरणमा बस्नुपर्छ भन्ने होईन । तर, उर्जा क्षेत्रमा मैले जे योगदान गरेको छु, जति समय साथ रहन्छ म रहन्छु,’– उनले भने ।

त्यस्तै, आफूले प्रधानमन्त्री ओलीसँग पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि काम गरिसकेको बताउँदै उनले सबैबाट सहयोग नै पाएको बताए । ‘शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली मैले सबैसँग काम गरेको छु । सबैभन्दा बढी मैले अहिलेकै प्रधानमन्त्रीज्यूसँग बढी समय काम गरेको छु । करिब ११ जना मन्त्रीज्यूहरुसँग काम गरेको छु मैले । म प्रोफेस्नल मान्छे हो । विद्युत प्राधिकारण राष्ट्रका लागि जसरी काम गर्दा राम्रो हुन्छ र यो उर्जा क्षेत्रलाई अगाडि बढाउनुपर्छ भनेर मैले काम गरेको छ,’– उनले भने ।

आफू पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशक भएर आएको बेलामा प्रधानमन्त्रीमा प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा भएको हुनाले आफूलाई त्यतातिर जोडेको हुनसक्ने उनले बताए । आफू पूर्ण रुपमा प्रोफेस्नल व्यक्ति भएको बताउँदै उनले आफ्नो क्षमता पूर्ण रुपमा प्रदर्शन गरेको बताए । ‘त्यो बेला प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो । जनार्दन शर्मा मन्त्री हु्नुहुन्थ्यो । उहाँहरुले मेरो क्षमता देखेरै ल्याउनु भएको होला नि त । मैले आफ्नो क्षमता प्रदर्शन पनि गरेँ ।’ कार्यकारी निर्देशक घिसिङले भने, ‘सबै सरकार, सबै मन्त्री र प्रधानमन्त्रीलाई पर्फमेन्स नै चाहिने हो । काम होस् भन्ने नै चाहनुहुन्छ । मैले आफूले जानको, आफूले सकेको काम गरिरहेको छु भने सबैजना खुसी नै हुनुहुन्छ होला ।’

साथै, प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा आफूले आवश्यक कागजातमात्रै पठाएको उनले बताए । कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम तीन महिनाभित्र उठाउने गरी पहल भइरहेको बताए । सबै उद्योगी व्यवसायीहरुले डेडिकेटेड ट्रंकलाइनको वक्यौता तिर्नेमा उनले विश्वास व्यक्त गरे ।

‘उहाँहरुले जे माग्नु भएको थियो, आवश्यक कागज पठाएको हो । डेडिकेटेड ट्रंक लाइनको वक्यौता तीन महिनाभित्र उठाउने भनेर लागेका छौं । उहाँहरुले तिर्नुहुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्