Logo

सहकारी ठगी प्रकरणमा फरार मेयर देवकुमार नेपालीले छानविन समितिलाई पठाए जवाफ



काठमाडौं, ३ भदौ । सहकारी ठगी प्रकरणमा फरार रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सरकारको सम्पर्कमा आएका छन् । उनले हुलाकमार्फत सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिलाई पत्र पठाएका छन् । पत्रमा उनले नेपाल फर्किएर काम गर्ने वातावरण बनाइदिए बचत रकम फिर्ता गर्न सकिने उल्लेख गरेका छन् ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले सहकारी ठगी प्रकरणमा फरार रहेका नेपालीले पत्र पठाएको बताए । समितिका सभापति थापाका अनुसार नेपालीले आफूले अहिले पनि बचतकर्ताहरुसँग समन्वय गरिरहेको पत्रमा उल्लेख गरेका छन् । फरार रहेका नेपाली नेकपा (एमाले) बाट निर्वाचित मेयर हुन् ।

‘पोखरा र बागलुङ कार्यक्षेत्र भएको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उहाँको श्रीमती छेला नेपाली फरार हुनुहुन्छ । उहाँहरुलाई रेडकर्नर नोटिस पनि जारी भएको छ । तर, उहाँले हुलाकमार्फत एउटा लिखित पत्र बचत फिर्ता गर्न सकिने, त्यसका लागि बचतकर्ताहरुसँग समन्वय भइरहेको, म फिर्ता भएर काम गर्ने वातावरण भयो भने बचत फिर्ता गर्न सक्छु । सम्पत्ति छ, त्यो सम्पत्तिमार्फत बचतकर्ताहरुको रकम फिर्ता गर्न सक्छु । मलाई वातावरण बनाइयोस्, समय दिइयोस् । देशमा फर्किने, काममा फर्किने वातावरण बनाइयोस् भनेर हुलाकमार्फत पत्र पठाउनु भएको छ,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै समितिका सभापति थापाले भने ।

साथै, हिजो बसेको समितिको बैठकले फरार रहेका नेपालीको पत्रबारे पनि छलफल गरेका छ । नेपाली नआएको खण्डमा उनकोस पत्रलाई सोधपुछको अंग बनाउने तयारी रहेको पनि समितिका सभापति थापाले बताए ।

गत २०८० जेठदेखि फरार रहेका नेपालीसहित सहकारीका ११ पदाधिकारीले दुई अर्ब दुई करोडभन्दा बढि रकम हिनामिना गरेको आरोप छ । मेयर नेपालीले केही समयअघि सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्तिसमेत सार्वजनिक गरेका थिए । सबै वचतकर्ताहरुको बचत रकम आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर तिर्ने प्रतिवद्धता जनाउँदै उनले त्यसका लागि वातावरण बनाइदिन समेत सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए ।

फरार रहेका मेयर नेपालीले सार्वजनिक गरेको सम्पत्ति अनुसार उनी र उनकी श्रीमती छेला नेपालीको नाममा देशका विभिन्न स्थानमा ४४ ठाउँमा घरजग्गा रहेको छ । उनको बागलुङ, पोखरा र काठमाडौंमा गरी १८ वटा घर रहेको छ । सोही जिल्लाको अन्य २६ ठाउँमा जग्गा रहेको छ ।

यो पनि पढ्नुहोस्ः दुई अर्बभन्दा बढि ठगी गरेका मेयर नेपालीको ४४ ठाउँमा घरजग्गा (विवरणसहित)

सहकारी ठगी अभियोगमा ढोरपाटनका मेयर नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी

ढोरपाटनका फरार मेयर नेपालीविरुद्ध ७ सय ६८ उजुरी





प्रतिक्रिया दिनुहोस्