Logo

परराष्ट्रमन्त्री डा.राणाको भ्रमणले नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाएको भारतीय पक्षको दाबी



काठमाडौं, ३ भदौ । भारतका विदेशमन्त्री डा. एश जयशंकरको निमन्त्रणामा नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यही भदौ २–६ गतेसम्म भारतको औपचारिक भ्रमणमा छिन् । दुवै देशका परराष्ट्रमन्त्रीले भारत–नेपाल द्विपक्षीय साझेदारीका व्यापक पक्षलाई समेट्दै भदौ ३ गते द्विपक्षीय कुराकानी गरेका छन् ।

उनीहरुले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुबारे पनि छलफल गरे । गहिरो ऐतिहासिक, सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकीहरु हुन् ।

मन्त्री राणाको भारत भ्रमणको सन्दर्भमा नेपालस्थित् भारतीय दूतावासले विज्ञप्ती जारी गर्दै हालैका वर्षहरुमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुले गति हासिल गरेको उल्लेख गरेको छ । जहाँ भनिएको छ,जुन विशेषगरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटी लगायत कनेक्टिभिटीका क्षेत्र जस्तैं भौतिक, डिजिटल साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको छ ।

नेपालले अब करिब १००० मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा गर्दै दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिबारे कुरा गरेको पनि दूतावासले जनाएको छ । उक्त सम्बन्धमा दुवै देशका परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अभूतपूर्व अवसरहरुउपर छलफल गरेका थिए ।

मन्त्रीहरुबीचको भेटवार्तामा नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको दूतावासले उल्लेख गरेको छ ।

भ्रमणका क्रममा नेपालका परराष्ट्रमन्त्री डा. राणाले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको र उक्त भेटमा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको दूतावासको भनाई छ । छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार भएको दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री राणाको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुरुप रहेको भारतीय पक्षको भनाई छ । मन्त्री राणाको भारत भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रहरुबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको भारतीय दूतावासको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्