Logo

दुई अतिवादको मध्यमा रही संस्कृति जोगाऔं




—विद्याप्रसाद घिमिरे

हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ । व्यवस्थित समाजका लागि यस धर्मले अनेकौं चाड, पर्व र धार्मिक संस्कारहरू बसालेको छ । विभिन्न कारणले भिन्न बसेका एकै परिवारका सदस्यबीच आपसी सम्बन्ध बलियो बनाउन चाडपर्व मान्ने परम्परा आएको पाइन्छ । परिवारका सबैलाई वर्षमा एकपटक भेटघाट गराई पारिवारिक सद्भाव बढाउन यस्ता पर्वको महत्त्व छ । तीज हिन्दू नारीहरूको महत्त्वपूर्ण चाड हो । भाद्र शुक्ल तृतीया तिथिदेखि पञ्चमीसम्मका चार दिन भगवान् शिवको पूजा गरी मनाइने यस चाडप्रति आजभोलि अन्य धर्म सम्प्रदायका महिलाको समेत चाख बढ्न थालेको पाइन्छ । सबै महिलाबीच लोकप्रिय बन्दै गएको तीजमा अहिले गैर हिन्दू महिला पनि सहभागी भई हर्षोल्लास मनाइरहेको देखिन्छ ।

पर्वतराज हिमालयले आफ्नी छोरी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिन खोजे । तर पार्वतीलाई शिवसँग विवाह गर्ने इच्छा थियो । पिताको निर्णयबाट विचलित भएकी पार्वतीले महादेवलाई पतिका रूपमा पाउन जङ्गलमा शिवलिङ्ग स्थापना गरेर अन्न, जल, फल सबै त्यागी तपस्या सुरू गरिन् । धेरै वर्षसम्म तप गरेपछि कठोर व्रतको प्रभावले शिवजी प्रकट भई “चाहेको पूर्ण होस्” भनी वरदान दिनुभयो । यसपछि शिव र पार्वतीबीच विवाह सम्पन्न भएको धार्मिक कथा छ । पार्वतीले यसरी निराहार व्रत बसेको दिन भाद्र शुक्ल तृतीयामा पर्ने हुँदा यस तिथिलाई विशेष महत्त्वका साथ लिइन्छ । यस दिन विवाहिता हिन्दू नारीले पतिको दीर्घायुका लागि र अविवाहिताले असल पति पाउन व्रत बस्ने चलन छ ।

विवाहपछि चेलीले आफू हुर्केको घर, समाज छोडी नयाँ घरमा जानुपर्ने । नौलो ठाउँमा बस्दा उनीहरूको मनमा उठ्ने न्यास्रोपनलाई कम गराउनु तीजको उद्देश्य हो । एकै परिवारमा हुर्केका दिदीबहिनीको सम्बन्ध विवाहपछि टाढिने हुँदा उनीहरूलाई नजिक ल्याउनु पनि यो पर्वको विशेषता हो । तीजमा सबै दिदीबहिनीलाई माइतीघरमा भेट हुने व्यवस्था मिलाइन्छ । त्यहाँ उनीहरू सुखदुःख साटासाट गर्दै आफूले जानेका परिकार बनाएर खान्छन् र रमाइलो गर्छन् । केही वर्षअघिसम्म चेली लिन माइती पक्ष नै चेलीको घरमा जाने र सबै चेलीलाई तीजको अघिल्लो दिन माइतीघरमा ल्याउने गरिन्थ्यो । तीजमा निराहार व्रत बस्नुपर्ने हुँदा त्यो दिनभर ‘आँत दरो’बनाउन अघिल्लो रात नै मीठो÷मीठो परिकार खाने गरिन्थ्यो । तीजको पूर्वसन्ध्यामा खाने यही परम्परा नै ‘दर’हो । ‘दर’तयार नहुँदासम्म उनीहरू आ–आफ्ना दुःख, व्यथालाई गीत बनाई गाएर नाच्ने गर्थे ।

त्यस समयमा समाजको उत्पीडित वर्गमा पर्ने महिलाले सासूससुरा, नन्द, आमाजूले दिएको दुःख, व्यथालाई गीतमा पोख्थे । मनोरञ्जनका अन्य विकल्प नभएको त्यस समय यिनै गीत र नृत्य मानसिक तनाव कम गर्ने माध्यम बनेको थियो । तर अहिले हामी एक्काइसौं शताब्दीमा छौं । सञ्चार र यातायातको सुविधाका कारण अहिलेका चेलीले आफूलाई माइतीबाट टाढिएको महशुस गर्नुपर्दैन । सामाजिक व्यवहारका हरेक आयाममा नयाँ सोचले जन्म लिएको छ । आधुनिक जीवनशैलीले पुरातन संस्कारहरू विस्थापन भएका छन् । विगतको पारिवारिक बुहार्तन र भोगाइको बाध्यता अहिले छैन । यो समयले ल्याएको महत्त्वपूर्ण उपलब्धि हो ।

परम्परित सोच त्याग्न नचाहेरै हाम्रो समाज लामो समयसम्म सामाजिक रूपान्तरणमा जान सकेन । समयले हामीलाई छोडेर धेरै नै फड्को मारिसक्दा पनि हामी पछाडि धकेलियौं । केही समयदेखि हामीले मिश्रित सामाजिक स्वरूपलाई अँगाल्दैछौं । मिश्रित समाजले खेल्ने प्रमुख भूमिका भनेको सामाजिक व्यवस्थालाई विश्व समुदायसँग मेल खाने गरी रूपान्तरण गर्नु हो । जबसम्म हामीले समाजको स्वरूप र परम्परित धारणामा परिवर्तन ल्याउँदैनौं पछौटे मानसिकताबाट हामी कहिल्यै मुक्त हुन सक्दैनौं । हामी दीनहीन र समयानुकूल चल्न नसक्ने वर्गमा परिभाषित हुन्छौं । समाजको रूपान्तरित स्वरूपलाई आत्मसात् गर्न नसकेकै कारण हाम्रो गन्तव्य अहिले पनि दिशाहीन अवस्थामा छ ।

रूपान्तरित समाजको यो स्वरूप निकै अर्थपूर्ण छ । हामीले जगेर्ना गर्नुपर्ने धेरै कुरो गुमाएर पाएको यो उपलब्धिलाई गौण अर्थमा लिइनु हुन्न । परिवर्तनको नाममा आयातित संस्कृति अङ्गीकार गर्दै जाँदा भोलि आफ्नै अस्तित्वको खतरा हुन्छ । आफू हराइसकेको आफैँलाई थाहा नहुन सक्छ । चाडपर्व पूर्वजले नासोको रूपमा हामीलाई सुम्पिएको पहिचान हो । हाम्रा हरेक संस्कार हाम्रै संस्कृतिसँग सम्बन्धित हुनुपर्छ । आफ्नो संस्कृतिप्रति हामीले गर्व गर्न जान्नुपर्छ । धार्मिक अस्तित्व र राष्ट्रिय गौरवसँग प्रत्यक्ष गाँसिएका हाम्रा चाडपर्वलाई संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो ।

हाम्रा चाडपर्वलाई अहिले अनेकौं विकृतिले गाँज्न थालेको छ । हिन्दू महिलाले अपार श्रद्धा र भक्तिपूर्वक मनाउने तीज आजभोलि विकृतिको शिकार बन्दैछ । तीजको मर्म र धर्मविपरीतका गतिविधि अहिले समाजका लागि अभिशप्त बनेको छ । विदेशी कामोत्तेजक गीतमा त्यसै अनुरूप साजसज्जा र हाउभाउको नृत्य अहिले देख्नेलाई लाज बनेको छ । न गीतमा…न शब्दमा …न नृत्यमा ! कहीँ खोज्दा आफूलाई भेट्न नसकिने यो विकृति हामीकहाँ कसले भित्र्याउँदैछ ?

अर्कोतर्फ तीजको दर खाने निहुँमा महिनौंदेखि महँगा भोजनगृहमा डिनर, नाममात्रको वस्त्रमा आयातित नृत्य अनि मदिरा र मासुको रौनक देखिन्छ । हामी आज कस्तो तीज मनाउँदैछौं ? दरलाई कुन परिभाषामा ढाल्दैछौं ? कम्तीमा यस्ता विकृतिलाई संस्कृतिको रङ्ग नदिए जाती हुने थियो । यो उच्छृङ्खलतालाई तीज र दरको नाम दिएर तीजजस्तो महान् चाडको कसैले बदनाम नगरौं । हाम्रो मौलिक परम्परा र सभ्यतामा चोट पुर्याउने काम कसैले नगरौं ।

यो आयातित फेशन र भट्किलो जीवनशैली अँगालेर हामी कुन संसारमा जाँदैछौं यसतर्फ हाम्रो चिन्ता हुनुपर्छ । देशका अधिकांश महिलाको स्थिति कस्तो छ ? ७० प्रतिशतभन्दा बढी महिलाको दैनिकी कसरी बितिरहेको छ– सम्पन्न भएकोमा गर्व गर्ने महिलाको ध्यान यसतर्फ पनि जान सके राम्रो हुनेछ । तीजका नाममा उच्छृङ्खलता प्रदर्शन गरिने स्थानमा कलिला बालबालिकाको पनि बाक्लै उपस्थिति देखिन्छ । यी बालबालिकाले तीजलाई कुन अर्थमा लिने हुन् र तीजको परिभाषाले भविष्यमा कस्तो अर्थ दिने हो– अर्को चिन्ताको विषय बनेको छ ।

एकातिर सभ्यताका नाममा हुने यस्ता गलत प्रवृत्तिले समाजलाई प्रदूषित बनाएको छ भने यसले महिला–महिलाबीच अन्तद्र्वन्द्व निम्त्याउने खतरा पनि उत्तिकै बढेको छ । सम्पन्नले दैनिक हजारौं खर्च गरी विपन्नलाई देखाउने प्रवृत्तिले समाजमा ईष्र्या र असन्तोष भित्रिएको छ भने महिलाभित्रै द्वन्द्व बढाएको छ । दिनरात मेहनत गरेर खाने बहुसङ्ख्यक महिला काम नगरी मोजमस्ती र रमाइलोमा दिन बिताउने महिलाबाट अवहेलित हुनुपरेको पीडा सुनाउँदै छन् ।

हेर्दा सामान्य देखिए पनि महिला–महिलाबीचमै असन्तोष र द्वेष फैलाउने यस परिपाटीले महिलालाई कित्ता÷कित्तामा विभाजन गरिदिएको छ । हिजोसम्म एउटै सशक्त आवाज लिएर अघि बढेका महिलाबीच तीज नजिकिँदै गर्दा फूट देखिँदैछ । मेहनत गरी कमाएको धन मोजमस्तीमा उडाउन गाह्रै हुन्छ । त्यसो भए दैनिक यसरी उडाउने धन कहाँबाट ओइरिएको छ– यसको अनुसन्धान सुरू भएमा राजस्व छल्ने उद्योगपति र व्यापारी, अधिकारको दुरुपयोग गर्ने राजनीतिज्ञ, अनियमित काममा लाग्ने कर्मचारी, कालो बजारी र तस्करहरूको अखडामा पुगेर अनुसन्धान टुङ्गिनेछ ।

माथि उल्लिखित विचारको अर्थ महिलालाई चार घेराभित्र सीमित राख्नुपर्छ भन्ने कदापि होइन । आजको युगमा लक्ष्मणरेखा कोरेर कसैलाई यही घेराभित्र रहनुपर्छ भन्नु मूर्खता हो । तीजमा अधिकांश महिला निराहार व्रत बस्छन् । यो चलन कतिसम्म उचित छ / यसले मानव स्वास्थ्यमा के कति प्रभाव पार्छ– यसतर्फ महिलाहरूकै ध्यान पुग्न सकेको देखिँदैन । पार्वतीले शिवजीलाई पति पाउन गरेसरह व्रत बस्न खोज्ने महिला यहाँ सयौं भेटिन्छन् । उनीहरूको यो समर्पण के कति युगसापेक्ष छ– यहाँ बुझ्नपर्ने के भने ‘पार्वती’अतित्वसँग सम्बन्धित शब्द हो किनकि पार्वतीलाई पर्वतकी छोरी भनिएको छ । पर्वत प्रकृतिभित्रको निर्जीव अस्तित्व हो । पर्वतको सन्तान भन्नुको आशय नै साङ्केतिक छ । धार्मिक पक्षलाई हेर्ने हो भने पार्वतीले शिवजीलाई पाउन सय वर्ष तपस्या गरेको उल्लेख छ । अधिकांश धार्मिक कथा साङ्केतिक अर्थमा आएका हुन्छन् । पार्वतीको निराहार व्रत र सयवर्षे तपस्याको कथा पनि साङ्केतिक अर्थमा नै आएको हो । यही कथालाई वास्तविक ठानेर अहिले कोही सय वर्ष तपस्या गर्न अघि सर्छ भने दुनियाँले उसलाई कुन स्तरमा राख्ला– त्यसैले यस्ता साङ्केतिक कथाको पछि नलागी स्वास्थ्यको विचार गरी व्रत बस्नु उत्तम हुन्छ ।

धर्मले शरीरमाद्यं खलु धर्मसाधनम् भनेको छ । यसको तात्पर्य शरीर नै धर्म आर्जनको साधन भएकाले स्वस्थ शरीरबाट मात्र धर्म साधना गर्न सकिन्छ भन्ने हो । धर्म आर्जनका लागि सर्वप्रथम शरीरलाई धर्मको लायक बनाउनुपर्छ । हामीकहाँ केही ‘कर्म’र ‘शब्द’ सुन्दा नै आश्चर्य लाग्ने खालका छन् । संसारमा कसैले नजानेको ‘नौटङ्की’हामीले जानेका छौं । हाम्रा धार्मिक ग्रन्थले अन्य अङ्गस्पर्शलाई त्यति महत्त्व दिएको छैन– जति चरणस्पर्शलाई दिएको छ । पहिलो त चरण शब्दलाई यति सम्मानजनक ढंगले प्रस्तुत गरिएको छ कि सुन्दा नै अनौठो लाग्छ । अब सोचौं, सबैभन्दा अवहेलित अङ्ग खुट्टो । अहिले पो जुत्ता चप्पलको विकास भयो । उहिल्यै खाली खुट्टाले मानिस संसार घुम्थ्यो, भएजति फोहर र मैलो त्यही खुट्टाको भाग्यमा पथ्र्यो । यस्तो दूषित खुट्टो छुनुलाई हामीले कुन स्तरको सम्मान दिएका छौं < चरण स्पर्शमा मात्र कुरो कहाँ टुङ्गिन्छ र ! चरण पखालेर जल पिउने र त्यसलाई चरणामृत मान्ने । खुट्टो पखालेको यही चरणामृत पिएपछि पुण्यलाभ हुने । यो परम्परा कति उचित छ < यति सजिलै पुण्यलाभ हुने भए मानिसले धर्मप्राप्तिका लागि दुनियाँँभरको झन्झट किन गर्ने ?

जमानामा थियो होला कुनै दम्भी पुरुष pm विक्षिप्त मनोदशाले ग्रसित हुनुपर्छ । नारीप्रति ईष्र्या थियो होला । नारीलाई पैतालामुनि दबाउने मनसायले अनेकौं हतकण्डा ओकलिदियो र धार्मिक कथाको नाम दियो । हामी एक्काईसौं शताब्दीका पढेलेखेका महिलासमेत वास्तविक अर्थ बुझ्नुको सट्टा दायाँबायाँ कतै नहेरी त्यही कथाको पछि दौडिएका छौं । महिलालाई कतै दासी भनिएको छ, कतै पैतालाको धुलो त कतै स्त्रीधन भन्दै वस्तुसँग तुलना गरिएको छ । हामी दास मानसिकताका वाहक आफूलाई ‘चरणकी दासी’ बनाउनमै खुसी छौं र त्यही कथनको पृष्ठपोषण गरिरहेका छौं । एउटा मानिसको खुट्टो पखालेको पानी अर्को मानिसले पिउँछौं र चरणामृत पिएको भ्रम पाल्छौं । यसैमा तृप्त भई धर्मार्जनको सन्मार्गमा हिँडेको ठान्छौं । मूर्खताको यो पराकाष्ठामा आफैँलाई लाज लाग्नुपर्ने हो । तर हामी गौरवान्वित छौ । सामाजिक रूपान्तरणका लागि अबका दिनमा यस्तो बेअर्थका नाटक बन्द गरिनुपर्छ । स्वस्थ भई बाँच्नका लागि मान्छेको खुट्टो पखालेको पानी होइन–शुद्ध जल पिउनुपर्छ, । v’6\6fsf] पानीलाई अमृतसमान मान्ने मानसिकतामा अब परिवर्तन आउनुपर्छ ।

यसरी धर्मको नाममा दिनभर पानीसमेत नखाई व्रत बस्ने गर्दा अनेकौं स्वास्थ्य समस्या आउने एउटा पक्ष त छँदैछ । त्यसमाथि साँझ परेपछि चरणामृत पिएको भन्दै खुट्टाको पानी पिएर स्वास्थ्यलाई खतरामा पार्ने गलत काम भइरहेको छ– जुन परम्परामा एकरत्ती चित्तबुझ्दो तर्क छैन । यो फगत अन्धविश्वासमात्र हो । यस किसिमका अन्धविश्वास हटाउन अब केन्द्रदेखि स्थानीय स्तरसम्म चेतना फैलाउन अनिवार्र्य छ । तीज सकिएको भोलिपल्टदेखि अनेकौं स्वास्थ्य समस्या लिएर अस्पताल र स्वास्थ्य संस्था धाउने महिलावर्गलाई लक्ष्य गरी धर्म र स्वास्थ्यसम्बन्धी जनचेतनालाई अभियानकै स्तरमा सञ्चालन गरिनुपर्छ ।
कतै आयातित उच्छृङ्खल व्यवहार त कतै पुण्य आर्जनका नाममा दास मानसिकता । यस्ता गतिविधिको सट्टा दुवै अतिवादको मध्यविन्दुमा रही संस्कृतिको जगेर्ना गर्नु बुद्धिमानी ठहर्छ । यसतर्फ विशेषतः महिला उत्थानमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायको ध्यान जानु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्