Logo

इन्द्रजात्रामा सहभागी हुन वसन्तपुर पुगे राष्ट्रपति र प्रधानमन्त्रीसहितका उच्च पदस्थ व्यक्तित्व, उपप्रमुख डंगोलले गरिन् स्वागत



काठमाडौं,१ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ व्यक्तित्वहरु इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका छन् ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

इनद्रजात्रामा सामेल हुन पौडेल र ओलीका अतिरिक्त सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत वसन्तपुर पुगेका छन् । उनीहरुलाई काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्वागत गरेकी छन् । वसन्तपुर आउने उच्च पदस्थ व्यक्तिलाई महानगर प्रमुखले स्वागत गर्ने प्रचलन रहिआएको छ । तर, काठमाडौंका मेयर बालेन शाहले इन्द्रजात्राको कार्यक्रम बहिष्कार गरेपछि सुनिताले स्वागत गरेकी हुन् । बालेन हाल भारतमा छन् । उनी जात्रा सकिएपछि आजै राती काठमाडौं आउँदैछन् ।

तस्विर सबै: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्