Logo

मेटमणिलाई पार्टीबाट गलहत्याउन झलनाथको माग, जोगाउने खेलमा माधव नेपाल



काठमाडौं,१ असोज । नेपालको प्रतिनिधि सभाले सर्वसम्मत रुपमा संविधान संशोधन गरेर नक्सामा सामेल गरेको लिपुलेक र कालापानीसहितको क्षेत्रमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीका उपमहासचिव एवं सांसद मेटमणि चौधरी विवादमा तानिएका छन् ।

गत साता प्राइम टाईम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा बोल्नै पूर्व मन्त्रीसमेत रहेका चौधरीले लिपुलेक र कालापानीमा भारतको दाबी पुग्ने र नेपालले नक्सामा राख्दैमा केही नहुने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्ति विवादमा मात्र तानिएको छैन् उनलाई सांसद पदबाटै हटाउन माग भईरहेको छ ।

चौधरीको भनाईलाई लिएर आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद सूर्य ढकालले उनलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका थिए । यता उनको आफ्नै पार्टी एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समेत जोडदार कारबाहीको माग गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले चौधरीलाई तत्काल कारबाही गर्न माग गरेका हुन् । ‘यस्ता दूषित तत्वहरुबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पाटीको रुपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्ति समक्ष जोडदार माग गर्दछु ।’ उनले भनेका छन् ।

खनालले सांसद चौधरी नेपाली नागरिक भएकोमा शंका व्यक्तसमेत गरेका छन् । उनले मेटमणिले नेपाली नागरिक भएर बोलेको हो कि भारतीय भन्दै प्रश्न गरेका छन् ‘ यो कस्तो विचित्रको अभिव्यक्ति हो रु यो भारतीय नागरिक बोल्दैछ कि नेपाली नागरिक रु यो त स्वरै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देश द्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो । हाम्रो पार्टी जस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो । यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र सुभेच्छुकहरुबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ । आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न । अझ हामै पार्टीको “उपमहासचिव” र वहालवाला “सांसद” बाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ ’उनले भनेका छन् ।

जोगाउने पक्षमा माधव नेपाल

त्यसोत चौधरीलाई पार्टीले स्प्रष्टीकरणसमेत सोधिसकेको छ । महासचिव घनश्याम भुसालले चौधरीलाई भदौ २८ गते प्रष्टीकरण सोधेका थिए । पार्टीले सोधेको प्रष्टीकरणको जवाफ दिँदै उनले आफ्नो भनाइलाई गलत अर्थ लगाईएको जिकिर गरेका छन् ।

उनले प्रष्टीकरणको जवाफ बुझाइसकेको हुँदा थप कारबाही गर्ने कि नगर्ने भन्ने निर्णय पार्टीको आगामी बैठकले गर्नेछ । तर, पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका विश्वासपात्र मानिने चौधरीलाई नेपाल पक्षले भने कारबाही गर्न नहुने अडान लिइरहेको स्रोतको भनाइ छ । एकपटकलाई जिब्रो चिप्लिएको बाहना गर्दै चौधरीलाई कारबाही नगर्ने नेपाल पक्षको तयारी छ । सोही तयारीलाई बुझेर नै खनालले सोमबार रातीनै विज्ञप्ति जारी गरेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्