Logo

प्रधानमन्त्री ओली अमेरिका उडेलगत्तै देउवा–दाहाल मिलाउन दोस्रो तहका नेताहरू सक्रिय



काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका उडेका छन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन आज दिउँसो अमेरिका उडेका हुन् । उनी असोज १४ गते काठमाडौं फर्किने कार्यतालिका छ। प्रधानमन्त्री ओली अमेरिकामा रहेकै बेलामा यता नेपालमा राजनीतिक समिकरण फेरबदलको प्रयास थालिएको चर्चा छ ।

खासगरी कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले दुई दल मिलेर सरकार चलाउनेतर्फ सोच्नुपर्नेगरि गृहकार्य थालेका छन् । एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री ओलीको धोकाकै कारण आफू अकस्मात सरकारबाट बाहिरिनुपरेको प्रचण्डको बुझाई छ । उनी कुनैपनि हालतमा ओलीसँग बदला लिने मुडमा छन् । र, एमालेलाई तत्कालै सत्ताबाट पर धकेल्न चाहन्छन् । हुन त दाहालले अहिले आफ्नो र पार्टीको प्राथमिकता सत्ता नभएको दाबी गरेका छन् । तर, उनले यही बीचमा कांग्रेसका नेता शेखर कोइरालासँग गरेको लगातारको भेटवार्ताले पनि कुनैपनि हालतमा कांग्रेस र एमालेको समिकरण भत्काउन आँतुर छन् भन्ने कुरा देखाउँछ ।

कांग्रेस सभापति देउवा पत्नी डा. आरजु राणा देउवा यतिवेला परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छिन् । उनकै जोडबलमा कांग्रेस र एमालेको सहकार्य भएको बताईन्छ । मन्त्री राणा भारत भ्रमणमा रहेको बेलामा प्रचण्डका दुवै छोरी रेनु र गंगा पनि दिल्लीमै पुगेको चर्चा छ ।

कतिसम्म भने रेनु र गंगा बसेको होटेलमै आरजुलाई पनि राखिएको खुलासा भएको छ । यो कुरा स्वयम प्रचण्डले ऋषि धमलासँगको अन्तर्वार्ताको क्रममा खुलाएका हुन् । यद्धपी दाहालले आरजु र आफ्ना छोरीहरुबीच भेटवार्ता वा कुराकानी नभएको स्पष्ट पारेका छन् । दाहालले आफ्ना छोरीहरु विशुद्ध पारिवारिक भ्रमणमा भारत गएको दाबी गरेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीपनि कांग्रेस नेतृत्वको भूमिकाप्रति सशंकित बनेका छन् । उनले आफूविरुद्ध घेराबन्दी भएको र अबको दिन अप्ठ्यारा रहेको भनेर पार्टीभित्र गरेको ब्रिफिङले पनि उनी कति असहज अवस्थामा छन् भन्ने कुरा पुष्टि हुन्छ । प्रधानमन्त्री ओली अमेरिकामा रहेकै बेलामा यता राजनीतिक धोकाधडीको शृखंला दोहोरिने चर्चा छ ।

अहिले कांग्रेस र माओवादीसहितको पूरानै गठबन्धन ब्युँताउनको लागि सबैभन्दा सक्रिय भूमिका माधव कुमार नेपालले पनि खेलेको चर्चा छ। यो बीचमा माधव नेपालले देउवासँग भेटवार्ता गरेको बुझिएको छ । देउवाले अहिलेको कांग्रेस र एमालेको गठबन्धन दायाँबायाँ नहुने बताउँदै आएका छन् ।

तर, पार्टीको आसन्न १५औं महाधिवेशनलाई ध्यान दिएर देउवाले त्यसअघि नै सत्ताको नेतृत्व लिने कुरामा सकारात्मक जवाफ दिने गरेका छन् । माधव नेपालकै जोडबलमा देउवा र दाहालबीच आज/भोलिभित्रै निर्णायक भेटवार्ताको तयारी भैरहेको स्रोतको दाबी छ । दुई नेताबीच भेटवार्ता गराउनको लागि दुवै दलका दोस्रो तहका नेताहरु पनि खटिएको चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्