Logo

अमेरिका, चीन र भारतद्वारा श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति दिसानायकालाई बधाइ तथा शुभकामना



नयाँदिल्ली, ७ असोज । अमेरिका, चीन र भारतलगायतका मुलुकले श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकालाई बधाई तथा शुभकामना दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका नवनियुक्त राष्ट्रपति दिसानायकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समार्फत् दिएको सन्देशमा भनिएको छ,“अनुरा कुमारा दिसानायका, श्रीलङ्काको राष्ट्रपति चुनावमा तपाईंको विजयका लागि बधाई।”

“भारतको छिमेक प्रथम नीति र भिजन सागरमा श्रीलङ्काको विशेष स्थान छ । हाम्रा जनता र सम्पूर्ण क्षेत्रको हितका लागि हाम्रो बहुआयामिक सहयोगलाई थप मजबुत बनाउन म तपाईंसँग नजिकबाट काम गर्न उत्सुक छु,” उनले एक्समा लेखेका छन् ।

त्यसैगरी, चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार दिसानायकाको विजयप्रति चीनका राष्ट्रपति सी चिनफिङले पनि खुशी व्यक्त गरेका छन् ।

उनले ६७ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र श्रीलङ्काले एकअर्कालाई सधैं बुझेको र समर्थन गर्दै विभिन्न आकारका देशहरूबीच मैत्रीपूर्ण सहअस्तित्व र पारस्परिक लाभकारी सहयोगको राम्रो उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन् । राष्ट्रपति सीले चीन र श्रीलङ्कालाई परम्परागत मित्रवत छिमेकीका रूपमा प्रशंसा गरेका छन् ।

राष्ट्रपति सीले चीन–श्रीलङ्का सम्बन्धको विकासलाई आफूले सम्मान गर्ने र परम्परागत मित्रतालाई अगाडि बढाउन र राजनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्न राष्ट्रपति दिसानायकेसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

अमेरिकाले पनि श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति दिसानायकालाई राष्ट्रपति निर्वाचित भएकोमा शुभकामना व्यक्त गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले आइतबार एक वक्तव्य जारी गर्दै निर्वाचनलाई ‘श्रीलङ्काको लोकतान्त्रिक संस्थाहरूको शक्तिको प्रमाण’ को संज्ञा दिँदै श्रीलङ्काले स्थिर, समृद्ध र एकताबद्ध समाज निर्माण गर्ने भएकाले यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वब्तव्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिका श्रीलङ्कालाई सहयोग गर्न प्रतिबद्ध छ । श्रीलङ्काले एक स्थिर, समृद्ध र एकताबद्ध समाजको निर्माण गरेको छ । साझा लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय सार्वभौमिकताको सम्मानमा आधारित द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नवनिर्वाचित राष्ट्रपतिसँग मिलेर काम गर्न हामी आतुर छौँ। साथै, हामी आर्थिक वृद्धि, सुरक्षा र हाम्रा राष्ट्रहरूबीच गहिरो सहयोग लाई बढावा दिन पनि तत्पर छौँ।” रासस



प्रतिक्रिया दिनुहोस्