Logo

ओलीजीले कांग्रेसका मन्त्रीहरुलाई बाहिर निकालेर रास्वपा र प्रचण्डजीलाई लिएर आउनेपनि सम्भावना छ : सुवेदी (भिडिओसहित)



काठमाडौं, १० असोज । राजनीतिक विश्लेषक एवम् परराष्ट्र मामिलाका जानकार अरुण सुवेदीले नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तनको लागि जहिल्यैपनि सम्भावना रहेको बताएका छन् । उनले भने,‘कांग्रेस संसदीय दलको नेता परिवर्तनको सम्भावना जहिल्यैतल्यै छ । भोलि नै पनि सम्भावना छ । दुई वटा कुराको प्रेडिक्शन नगरौं है, डेमोक्रेटिक पार्टीको नेतृत्व परिवर्तनको वैधानिक अवस्था जहिल्यैतल्यै खुला रहन्छ । अंकगणित भनेको त वैकल्पिक राजनीतिको दाबी गर्नेहरुले पेश गर्ने कुरा हो ।’

हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘या त शेरबहादुरजीले पनि अर्को संसदीय दलको नेता पर्पोज गर्न सक्नुहुन्छ । त्यो कुरा पनि कांग्रेसमा पहिले भएको छ । अर्को, उहाँबाहेक अरु ८७ जनाकै वैधानिक अधिकार छ कि उहाँलाई चूनौति दिने । यो खुला विषय हो, विश्लेषणको विषय होईन ।’

उनले शेरबहादुर देउवाको उत्तराधिकारी वा विकल्पको रुपमा पनि धेरै नेता रहेको सुनाए । उनले पार्टीको महाधिवेशनमा शेखर कोइरालाले र संसदीय दलको नेतामा गगन थापाले देउवालाई चूनौति दिएको पनि स्मरण गराए । उनले भने,‘शेरबहादुरजीको विकल्पमा ईभन आरजुको पनि वैधानिक अधिकार छ ।’

पत्रकार धमलाले अब शेरबहादुर देउवा र प्रचण्डबीच सत्ता–सहकार्यको सम्भावना के छ ? भनेर राखेको प्रश्नमा उनले त्यो पनि सम्भावना रहेको सुनाए । उनले भने,‘संसद्को चञ्चल गणितमा त्यसको पनि सम्भावना छ । अर्को सम्भावना भनेको ओलीजीले नै कांग्रेसका मन्त्रीहरुलाई बाहिर निकालेर रास्वपा र प्रचण्डजीलाई लिएर आउनुहोला । सबै सम्भावनाहरु समानान्तर छन् । तर, अब पार्लियामेन्टभित्रको मात्रै गणित परिवर्तनको मात्रै राजनीतिले देशका समस्या समाधान गर्ने अवस्था रहेन । मेरो सरोकार त्यहाँनिर हो । जनतामा यसले झन ठूलो विकर्षण उपन्न हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्