Logo

केपी ओलीबाट प्रचण्डजी र मैले धोका खायौं : माधव नेपाल (भिडिओसहित)



काठमाडौं, १२ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धोका खाएको बताएका छन् ।

उनले भने,‘धोका प्रचण्डजीले खानुभयो, धोका हामी सबैले खायौं । र, राजनीतिमा धोका दिने कुरा बडो गम्भीर कुरा हो । यो मामिलामा सबै नेता उस्तै छन् भनेर म भन्दिनँ । तर, कसै कसैको बानी धोका दिने हुन्छ । धोका दिनेहरुबाट होशियार हुनुपर्दछ । नेपालको राजनीतिमा कुन कुन नेताले मलाई धोका दिएका छन् भन्ने कुरा म कुनैबेला फेहरिस्त बताउँला ।’ उनले असल भएपनि आफूलाई पहिलोपटक धोका दिने नेता कृष्णप्रसाद भट्टराई रहेको स्मरण गराए । तर, गिरिजाप्रसाद कोइरालालाई भने उनले इमानदार नेताको संज्ञा दिए । यस्तै उनले शेरबहादुर देउवापनि बेइमान नेतामा नपर्ने स्पष्ट पारे ।

आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्री एमालेमा जाने भन्ने कुरालाई बेकारको हल्ला भनेका छन् । उनले झाँक्रीले पार्टी छोडेर एमालेमा जाने भन्ने कुरा आफूलाई विश्वास नलागेको बताए । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतले आफूलाई छोडेर एमालेमा जाने कुरालाई हावादारीको संज्ञा दिए । भानुभक्त जोशी र शेरबहदाुर कुँवरहरु पार्टी छोडेर जाने भनेर आफ्नो नाम आएकोमा बेस्सरी हाँसेको नेपालले सुनाए । उनले आफूले रामकुमारी झाँक्रीलाई नहराएको स्पष्टीकरण दिए । उनले पार्टी पदाधिकारीको निर्वाचनमा आफूले गुट नबनाएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्