Logo

योगेशलाई धमलाको प्रश्न, ‘रामकुमारी झाँक्री तपाईँको नाम लिनेवित्तिकै रूनुहुन्छ, किन हो ?’ (भिडिओसहित)



काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री ढिलोचाँडो एमाले प्रवेश गर्ने दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता भट्टराईले रामकुमारीलाई उपयुक्त पार्टी एमाले नै रहेको बताएका हुन् । उनले एकीकृत समाजवादीमा पनि झाँक्रीलाई कुनै सम्मान नरहेको र कम्फर्टेबल पनि फिल नगरेकाले ढिलोचाँडो एमालेमै फर्किने दाबी गरे । ‘म आजपनि भन्छु कि रामकुमारीको लागि उपयुक्त पार्टी एमाले हो । कहिले काहीँ हाम्रो गफ हुन्छ, चिया कफी खान्छौं । दाजु भन्नुहुन्छ, म बहिनी भन्छु । आउनुहुन्छ होला ढिलोचाँडो किन भने समाजवादीमा पनि उहाँलाई सम्मान भइराखेको छैन । उहाँलाई त्यहाँ मैले कम्फर्टेबल फिल मैले गरेको छैन,’– नेता भट्टराईले भने ।

‘रामकुमारी झाँक्री तपाईँको नाम लिनेवित्तिकै रूनुहुन्छ, किन हो ?’ भन्ने प्रश्नमा उनले झाँक्रीलाई भावक मान्छेको संज्ञा दिए । झाँक्री विद्यार्थी आन्दोलनबाट उदाएको, पढेलेखेको नेतृको रुपमा आफूले बुझेको पनि उनले सुनाए । एमाले विभाजनको बेलामा झाँक्रीलाई आफूले सम्झाएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘उहाँ भावुक मान्छे हो । एउटा राम्रो महिला नेतृ हो । म प्रशंसा गर्छु । विद्यार्थी आन्दोलनबाट आएको, लडाकु, लडाकुमात्रै होईन कि पढेलेखेको पनि मान्छे हो । कतिपय कुराहरुमा उहाँ हामीभन्दा पनि प्रष्टसित बोल्नुहुन्छ । मासले, मान्छेले के भन्छन् भन्ने कुरासित उहाँ त्यति वास्ता गर्नुहुन्न । उहाँले आफ्नो कुरा प्रष्टसित भन्नु हुन्छ । उहाँलाई पार्टी विभाजनको बेला मैले धेरै जोडबल गरेको हो । उहाँ माननीय हुनुहुन्थ्यो त्यतिबेला । तपाईँ नजानुस्, एमालेमै बसौं, एमालेमै प्लेटफर्म छ । आज केही हेपिन्छौं होला हामी । तर, सधैं त्यस्तो हुँदैन । अध्यक्षसँग हाम्रो केही मनमुटाव छ । अध्यक्षले सधैं यसरी सोच्नुहुन्न । परिस्थिति बदलिएपछि पक्कैपनि त्यही ढंगले सोच्नुहोला । हामीले पनि अध्यक्षका बारेमा केही टिप्पणी गरेका छौं । अध्यक्षले पनि हाम्रो बारेमा टिप्पणी गर्नुभएको छ । हिजोको तनावपूर्ण अवस्थामा भएका हुन् । अब हामी केपी ओलीसँगै सम्झौता गरेर जाऔं भनेर रामकुमारीजीलाई मैले धेरै भनेको हुँ । मैले धेरै मान्छेलाई भनिन, रामकुमारीलगायत केही मान्छेलाई किन भनेको हो भने उहाँहरुको भविष्य चाहीँ धेरै राम्रो एमालेमै थियो । आज पनि छ, सकिएको छैन ।’



प्रतिक्रिया दिनुहोस्