Logo

सहकारी ठगीको नयाँ तरिका, ऋषिकेशको शंकास्पद भूमिका



काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारी ठगी प्रकरणमा मुछिएका छन् । पोखरेलकै पहलमा २०६८ सालमा स्थापना भएको उमागौरी कृषि सहकारीमा १४ करोड ५६ लाख रकम हिनामिना भएको पाइएको छ । सो सहकारीले ऋणीलाई दोहोरो ऋणी बनाएको छ । सहकारीबाट ऋण लिनका लागि धितो सुरक्षणबापत राखिएको जग्गा सो सहकारीले पुनः बैंकमा राखेको पाइएको छ ।

मोरङ जिल्लाको धनपालथान गाउँपालिका–४ कर्सियास्थित कार्यालय रहेको उमागौरी सहकारी लामो समयदेखि बन्द अवस्थामा छ । पीडितहरुले प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण केन्द्रमा उजुरी दिएका छन् । तर, नियमक निकायसँग सो सहकारीको २०६८ देखि ०७८ सम्मको कुनै पनि कागजात नहुँदा कारबाही प्रक्रिया अगाडि बढाउन सकिएको छैन । सो सहकारीमा २०७२ देखि ०७८ सम्म ऋषिकेशकी श्रीमती अञ्जला कोइराला थिईन् । नियमक निकायले पटक–पटक सो अवधिको कागजात बुझाउन पत्रचार गरेपनि उनीहरुले बुझाएका थिएनन् ।

उमागौरी सहकारीको कूल पँजी १८ करोड ५१ लाख रहेको छ । सहकारीले ऋणी र सञ्चालक सदस्यहरुको जग्गाको कागज राखेर विभिन्न बैंकबाट ११ करोड ५६ लाख ऋण निकालेको पाइएको छ । सहकारीका ऋणीहरुले आफूले समयमा तिर्नुपर्ने किस्ता बुझाएपनि बैंकमा कागपत्र राखेर निकालिएको ऋणको किस्ता सहकारीले नतिरिदिँदा अहिले उनीहरु विचल्लीमा परेका छन् ।

सो सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार हुन् । वैचारिक हिसाबमा उनी एमालेनिकट मानिन्छन् । अञ्जला सञ्चालक समितिमा रहेपनि सो अवधिमा हालिमुहाली ऋषिकेशले नै चलाएको एक पीडितले बताए । पोखरेलेकै दवाब र प्रभावमा ऋणी र सञ्चालक समितिका सदस्यको जग्गा धितो राखेर बैंकले लोन दिएको पीडितहरुको आरोप छ ।

उमागौरी सहकारीले माछापुच्छ्रे बैंक, नविल बैंक र आरएसडिसी लघुवित्तबाट ऋणी र सञ्चालक समिति सदस्यको जग्गा धितो राखेर ऋण लिएको थियो । ऋण नउठेपछि लघुवित्तले सो सहकारीविरुद्ध हालेको मुद्दा अहिले विचाराधीन रहेको बताइएको छ । ऋण नतिरेपछि सहकारी, सहकारीका पदाधिकारी र सञ्चालकहरुलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ । कालोसूचीमा रहेकाहरुमा सो सहकारीका अध्यक्ष रौनियार, तत्कालीन सञ्चालक रहेकी ऋषिकेशकी श्रीमती अञ्जला, उपाध्यक्ष दिलमाया राई, सचिव आमोद अन्सारी मियाँ, कोषध्यक्ष शम्भुप्रसाद सिंहलगायत छन् ।



प्रतिक्रिया दिनुहोस्