Logo

पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ बेल्जियममा बिमोचन



काठमाडौँ, २१ असोज । लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा बिमोचन गरिएको छ ।

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, गैर आवासीय नेपाल सङ्घ बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतका अतिथीहरुले पुस्तकको बिमोचन गरे ।

राजदुत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरुका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठूलो सहयोग पुग्ने धारणा राखे । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजका रुपमा रहने भएकाले पनि इतिहास बन्ने उनको भनाइ थियो ।

राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, सङ्घर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, सस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरुले कसरी विश्व सामु फैलाइ रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यबाद सहित शुभकामना दिए ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता समेत रहेका लेखक गौतमले पुस्तकमा मुलुक बाहिर रहेकाहरुको जीवन्त कथा लेख्ने प्रयास गरिएको बताए ।

उनले करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा बिमोचन गर्ने अबसर पाएकोमा अनेसासप्रति आभार व्यक्त गरे ।

पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति, परिवारिक अवस्था, वैदेशिक सङ्घर्षलगायतका कथा समाबेश गरिएको छ ।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद दिए ।

नेपाल पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका कथाहरु सङ्कलन गरेकामा पत्रकार गौतमप्रति आभार प्रकट गरे ।

त्यसअवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तकमाथि टिप्पणी गर्दै यस्ले युरोपभित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिए ।

अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तकमाथि टिप्पणी गर्दै निकै सङ्घर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताए । 

अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको सङ्घर्षको अन्तरकथा तयार पारी बिमोचनका लागि अनेसासलाई अबसर दिएकोमा धन्यवाद दिए ।

कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जनसम्पर्क समिति बेल्जियमका उपसभापति बिराट जोशीलगायतले कृति सफलताको शुभकामना व्यक्त गरे । रासस



प्रतिक्रिया दिनुहोस्