Logo

पशुपति धर्मशालामा मारवाडी सेवा समितिले दाबी गर्यो मोहियानी हक



काठमाडौं, २३ असोज । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा मोहियानी हक दाबी गरेको छ । तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जबराले विसं १९९७ सालमा (८४ वर्ष अगाडि) मारवाडी समाजका रामकुमार मारवाडीलगायतका व्यक्तिहरुलाई बोलाई थारा गाई, साँढे इत्यादीको संरक्षण, हेरचाह गर्न, सेवा कार्यहरु गर्न, पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालुहरुको बसोबासको कुनै भरपर्दो व्यवस्था नभएको अवस्था मनन गरी गौशाला र धर्मशाला एवं सेवा कार्य गर्न सो जग्गा उपलब्ध गराएको माडवारी सेवा समाजले जनाएको छ ।

गौशाला धर्मशालाको जग्गा मारवाडी समाजलाई उपलब्ध गराईएको पृष्ठभुमीमा त्यसबेलादेखि नै मारवाडी समाजले आफ्नो व्यवसायको केही अंश चन्दा स्वरुप प्रदान गरी पशुपति गौशाला धर्मशालाको निर्माण गर्दै गाई गोठ तथा आफ्ना पूर्वजहरुको स्मृतिमा कोठा, हल, मन्दिर निमार्ण गर्ने कार्य भएको बताइएको छ ।

माडवारी सेवा समाजका अनुसार धर्मशालाबाट पशुपतिनाथको अभिषेकका लागि स्थापनाकालदेखि अविछिन्न रुपमा दैनिक २९ लिटर दूध निःशुल्क पठाउने गरिएको, गौशाला धर्मशालाभित्र हाल गौसेवा, नेपालकै पहिलो निःशुल्क शववाहन सेवा, शव राख्ने फ्रिज सेवा प्रदान गरिनुका साथै २०५७ सालदेखि निःशुल्क कृत्रिम खुट्टा सेवाअन्तर्गत विभिन्न कारणबाट खुट्टा गुमाएका करीब ६ हजार जनालाइ कृत्रिम खुट्टा वितरण गरिएको छ ।

त्यस्तै, धर्मशालामा बस्न आउने यात्रुहरुलाई सहुलियत दरमा आवास र शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको, निःशुल्क होमियोप्याथिक स्वास्थ्य परीक्षण, हरेक शनिवार करिब ५०० जना असहायहरुलाई निःशुल्क भोजनको व्यवस्था गरिंदै आएको बताइएको छ ।

साथै, पशुपति क्षेत्र विकास कोषले २०८० साउन १७ गते एकतर्फी निर्णय गरी सम्झौता भंग गरेको भन्दै माडवारी सेवा समाजले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले पशुपति विकास कोषको निर्णयलाई सदर गरेपनि पुनरावेदन जान पाउने म्याद रहँदै हटाउने प्रयास भइरहेको बताइएको छ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्