Logo

विशेष अधिवेशन बोलाउन अरुभन्दा माधव नेपाललाई हतारो



काठमाडौं, २ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्को विशेष अधिवेशन बोलाउनुपर्नेमा जोड दिएका छन् । मुख्य विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बोलाएको विपक्षी दलहरुको बैठकमा आफ्नो धारणा राख्ने क्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीलाई विभाजन गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन लागेको ब्रिफिङ गरेका थिए ।

उनले आफ्नो दललाई मात्रै विभाजन गर्ने नभएर माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका साना दललाई पनि विभाजन गर्न खोजिएको भन्दै आफूकहाँ आएको सूचना सुनाए । तर, प्रचण्डले आफ्नो पार्टी अहिले कसैले पनि विभाजन गर्न नसक्ने दाबी पेश गरे । बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संसद्को विशेष अधिवेशनमा रास्वपाको भन्दापनि माधव नेपालको बढि जोड भएको जानकारी दिए ।

पछिल्लो समय माधव नेपालको दल विभाजन हुने हल्ला चलिरहेको छ । माधव नेपाललले आजको बैठकमा यही विषय जोडदार रुपमा उठाउनुले पनि सरकार तत्कालै अध्यादेश ल्याएर केही दल विभाजनको तयारीमा रहेको कुरालाई पुष्टि गर्ने साहको भनाई छ । तर, विपक्षी दलहरुले अध्यादेश ल्याउन नदिनको लागि दबाब दिनुपर्ने मत बनाएका छन् । उनीहरुले यो विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेटेरै आग्रह गरिने सहमति गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्