काठमाडौं, २५ कार्तिक । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) २७ पूरा भएर २८औं वर्षमा प्रवेश गरेको छ। फोटो पत्रकारहरुको २०५३ मा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो फोटोपत्रकारहरुको छाता संगठन हो । फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहदै काम गर्दै आइरहेको छ ।
२७औं साधारण सभा तथा १३ औं अधिवेशनबाट प्रदीपराज वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ नेतृत्वको लागि सर्वसम्मत अध्यक्षमा पुनः प्रदीपराज वन्त, वरिष्ठ उपाध्यक्षमा लेख बहादुर (सागर) श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री (भगवती), प्रथम उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, केन्द्रीय सदस्यहरूमा सुशील कुमार श्रेष्ठ, मुकुन्द कालिकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन् ।
सोहि अवसरमा संस्थाले खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २७ औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशन अग्रज फोटो पत्रकारको उपस्थितिमा एक विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष अतिथिहरु प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्षहरु कविन्द्रमान शाक्य, राजभाइ सुवाल त्यसैगरी संन्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, नेपाल फोटोग्राफर महासंघका महासचिव दिगम्बर राजबंशी, काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानबाट संस्कृति सम्पदा फोटो पत्रकारिता विधामा फोटो पत्रकार गणेश बिष्ट, साहसिक फोटो पत्रकारिता विधामा सुजन बज्राचार्य, पर्या–पर्यटन फोटो पत्रकारिता विधामा प्रविन श्रेष्ठ, मनोरञ्जन फोटो पत्रकारिता विधामा लेख बहादुर श्रेष्ठ, खेलकुद फोटो पत्रकारिता विधामा सरोज नेपाललाई प्रदान गरिएको छ । पूर्व सशस्त्र प्रहरी नायव माहानिरिक्षकको नाममा स्थापना गरिएको माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार २०८१ बाट नेपालभर बालबालिकाको क्षेत्रमा कार्य गर्ने–सिविन नेपालमा कार्यरत महिला फोटो पत्रकार रमिता छुँजुलाई प्रदान गरिएको थियो ।
त्यस्तै संस्थागत एनएफपिजे प्रेसिडेण्ट अवार्ड २०८१ बाट कार्यकालमा उत्कृष्ट काम गर्ने कार्यवहाक महासचिव घनश्याम श्रेष्ठलाई प्रदान गरियो भने उत्कृष्ट जिल्ला शाखा पुरस्कार रामेछाप जिल्ला शाखालाई प्राप्त गर्न सफल भएका छ । फोटोः दिनेश चौधरी रिपोर्टर्स नेपाल डटकम