Logo

देउवाको सहमतिबिना प्रधानमन्त्री ओलीले बीआरआईमा सम्झौता गरे सरकार ढल्छ : पुरञ्जन आचार्य



काठमाडौं, ५ मंसिर । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अहिले जनतामा व्यापक छट्पट्टी र निराशा व्याप्त रहेको बताएका छन् । वर्तमान कांग्रेस–एमालेको सरकारको रवैया यस्तै रह्यो भने जनता नै सडकमा आएर सरकार ढालिदिने उनको टिप्पणी छ । हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले जनता खण्ड खण्डमा आक्रोशित भएर सडकमा आएको बताए ।

पत्रकार धमलाले यो सरकारको आयु कति भनेर राखेको प्रश्नमा उनले भने–‘यसैगरि काम नगरी बस्ने हो भने यो धेरै जाँदैन् । अहिले इकोनोमिक ग्रोथ नै छैन् । विष्णु पौडेलको अर्थमन्त्रीको कार्यकालमा नेपालको अर्थतन्त्रले गति लिन्छ भन्ने कुरामा मलाई त्यति पत्यार लाग्दैन् । उहाँ असल मान्छे हो । तर, उहाँ गलत मन्त्रालयमा पर्नुभयो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारेपनि प्रश्न उठाएका छन् । उनले भने,‘प्रधानमन्त्री भ्रमणमा जानै नहुने त होईन, तर अहिले एजेण्डा के छ ? नगए हुन्थ्यो नि । पहिला सुरु नेपालमा उहाँलाई जनताले आहा भन्न थाले भने चीनले पनि उहाँलाई राम्ररी हेर्दथ्यो क्या, अब यहाँ (नेपालमा) केही भएको छैन्, अब उहाँले त्यहाँ गएर के भन्नुहुन्छ ? यहाँको कमजोर प्रधानमन्त्रीलाई त्यहाँ धेरै स्वागत, सत्कार त देलान, तर डिल धेरै गर्छन यो मलाई लाग्दैन् ।’

आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीआरआई अनुदानमा भएमात्रै स्विकार्न सकिने कुरा पब्लिक्ली राखेको स्मरण गराए । कांग्रेस सभापति देउवाको सहमतिबिना प्रधानमन्त्री ओलीले चीन भ्रमणमा बीआरआईबारे सम्झौता गरे सरकार नै ढल्ने सनसनीपूर्ण टिप्पणी गरे ।

उनले भने,‘आजको कांग्रेस, जसको हातमा कांग्रेस छ, त्यसले त्यो टोलरेट गर्दैन् । बीआरआईमा देउवाको सहमतिबिना प्रधानमन्त्री ओलीले सम्झौता गर्नुभयो भने सरकार ढिलो चाँडो ढल्छ । सरकार धरापमा पर्छ ।’ उनले नेपालमा विद्यमान नेताहरुमध्ये शेखर कोइराला परीक्षण हुन बाँकी रहेको सुनाए । पार्टीभित्र आफ्नो पक्षमा बहुमत पुर्याउन सकेको दिन शेखरले सभापति देउवालाई दलको नेताबाट हटाउने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्