६ मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले दुई वर्षको काम ६ महिनाभित्रै सक्ने दाबी गरेका छन् । साथै, उनले कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट आफूलाई नरहेको पनि उल्लेख गरे ।
अध्यक्ष डिसीका अनुसार यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा बोर्ड रहेको छ ।
‘बोर्डमा अध्यक्ष बन्नुभन्दा अगाडि मैले पनि स्वायत्तता चाहिन्छ भनेर धेरै पटक बोलेको छु । तर यहाँ काम गर्न कुनै रोकावट रहेनछ, स्वायत्तता छ,’ डिसीले भने, ‘त्यसकारण मैले मेरो समूहसँग मिलेर यहाँ भएका सेवालाई चुस्तदुरुस्त बनाउने र आवश्यक सेवा थप्ने गरी काम गरिरहेको छु । मैले गरेका काम आगामी वर्षको वैशाख १ गतेसम्ममा देखिने छ, चलचित्रकर्मीले महसुस गर्ने गरी काम गरेर परिणाम देखाउने छु ।’
अध्यक्ष डिसीले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न, चलचित्र क्षेत्रको इतिहासलाई संग्रहित गर्न, पटकथालाई स्रग्रहित गर्न आफूले काम गरिरहेको दाबी पनि गरे ।
आगामी वर्ष २०८२ वैशाख १ गतेदेखि बक्सअफिसमा ‘रियल टाइम डाटा’ निर्मातालाई उपलब्ध गराउनेलगायतका काम गर्न पनि आफ्नो समूहले अहोरात्र काम गरिरहेको उनको भनाइ थियो ।
‘चलचित्रकर्मीलाई अपनत्व महसुस गराउन बोर्डको सभाहललाई एकपटकको कार्यक्रम गर्न निःशुल्क उपलब्ध गराउनुका साथै केही चलचित्रकर्मीको हकमा निधन भएपछि अन्तिम संस्कार गर्न कठिनाइ देखिएका कारण अब त्यसको समन्वय बोर्डले गर्नेछ । यसैगरी बोर्डसहित बाँकी रहेका सम्पूर्ण चलचित्र भवनलाई अपाग्रतामैत्री (ह्वीलचेयर पुग्ने) बनाउँछौँ,’ अध्यक्ष डिसीले भने ।