Logo

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक



काठमाडौँ, १६ मङ्सिर । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेकी छिन् ।

आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।

गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेकी छिन् । आयुमी दुई वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गरेकी थिइन् ।

सङ्गीतमा उनी आफ्नो परिवारको तेस्रो पुस्ता हुन् । उनकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका थिइन् भने बाजे लोकबहादुर तामाङ लोकगायक थिए।

आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित छन् । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताए । रासस



प्रतिक्रिया दिनुहोस्