Logo

नेपालले खोजेअनुसार बीआरआई अनुदानमा दिन चिनियाँहरुले मानेनन् : राजकिशोर यादव



काठमाडौं, २० मंसिर । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई कार्यान्वयनको सवालमा नेपालले गरेको प्रस्तावमा चीनको सहमतिमा पूनर्लेखन (थप संशोधन) गरेर सहमति भएको बताएका छन् ।

उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमणको सफल वा असफलको मानक के लाई मान्ने ? अब मानक, हामीले जे प्रस्ताव गरेका थियौं, त्यसलाई रि–राईट गरेर भनौं न त्यसमा थप केही संशोधन गरेर चीनले सहमति जनाएको स्थिति छ । जहाँसम्म त्यो प्रोजेक्टवाईज १० वटा परियोजनामा सहमति गरेको कुरा छ, मलाई लाग्छ त्यसमा अधिकांश पूरानै प्रोजेक्ट छन् । पूरानै सहमतिको निरन्तरता हो । खाली विषय के हो भने जुन यहाँ हामीले ग्रान्टको कुरा गरेका थियौं, ग्रान्टलाई उनीहरुले एड भनेर संशोधन गरे । एड भनेको यसले दुवै अर्थ दिन्छ, ग्रान्ट एज वेल एज लोन, हामीले नेपालको स्वार्थमा उपयोग गर्न सक्छौं, त्यसमा भर पर्ने कुरा हो ।’

आज (बिहीबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले बीआरआईलाई चिनियाँ सरकारको महत्वकांक्षी रणनीतिक लगानीको संज्ञा दिए । उनले बीआरआई अनुदानमा लिनको लागि नेपालले खोजेको भएपनि चीनले नमानेको टिप्पणी गरे ।

उनले बीआरआई फ्रेमवर्कमा भएको सहमतिअनुसार अनुदान र ऋण दुवै हुने दाबी गरे । उनले नेपालले ऋण लिएर घ्यु खाने काम गर्न नहुने बताए । तर, नेपालले आफ्नो विकासको लागि देशको हितमा बीआरआईलाई उपयोग गर्नुपर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्