काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भीम आचार्यले बीआरआई फ्रेमवर्क सम्झौताले ऋण र अनुदान दुवैको ढोका खोलेको बताएका छन् । तर, ऋण लिने कि नलिने भन्ने कुरा आफूहरुको मर्जीको कुरा भएको उनको भनाई छ । प्राइम टिभीबाट प्रसारण भएको प्राइम सम्वाद कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले नेपालले अरु देशसँग लिने तर चीनसँग चाहीँ लिन्न भन्नु उचित नहुने टिप्पणी गरे ।
उनले भने,‘कुरा के हो भने उनीहरुसँग बार्गेनिङ गर्दा अरुभन्दा सस्तो ब्याजदर भयो भने चाइनासँग लिउँला । अन्तबाट सस्तोमा पाईयो भने अन्तबाट लिउँला । प्रोजेक्ट हेरेर पनि हुन्छ नि । मानिलिउँ, बुढीगण्डकी आयोजना बनाउनको लागि भोलि विश्व बैंकले दिन्छ कि, आईएमएफले दिन्छ कि, कसले सस्तो ब्याजदरमा दिन्छ, त्यो हेर्ने हो ।’
कसैसँग सहयोग वा ऋण लिँदा नेपाल भूराजनीति चेपुवामा पर्ने कुरा पनि गलत हुने उनको भनाई छ । उनले सहयोग वा ऋण लिने कुरा नेपालको स्वतन्त्र निर्णयमा भर पर्ने सुनाए ।