काठमाडौं, २८ मंसिर । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले केपी ओलीले आफूलाई चुनाव जिताएको भनेर भनिरहँदा राप्रपा वा आफूले केपी ओलीलाई चुनाव जिताएको किन नभनेको भन्दै आक्रोश पोखेका छन् । हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो असन्तुष्टि पोखेका हुन् ।
उनले भने,”ए ऋषिजी, जतिचोटि यहाँ भेट भयो, तपाईं खाली राजेन्द्रलाई केपी शर्मा ओलीले जितायो, जितायो भन्नुहुन्छ । केपी शर्मा ओलीलाई राप्रपाले जितायो, राजेन्द्र लिङ्देनले जितायो भन्ने कुरा किन गर्नुहुन्न भन्या ? त्यतिमात्रै होईन, अहिलेका सभामुखलाई हाम्रो मतले जिताएका छौं । अरु थुप्रै एमालेका नेतालाई हामीले हाम्रो भोटले जिताएका छौं ।” उनले ओली नेतृत्वको वर्तमान सरकारले जनता आशा जगाउन नसकेको दाबी गरे । उनले भने,”यो सरकारले जनतालाई निराश बनाएको छ । एक प्रकारले यो सरकार असफल भएको छ ।”