काठमाडौं, २ पुष । नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक डा. मुकेशराज काफ्लेले नेपाललाई हतारमा लोडसेडिङमुक्त घोषणा गरिएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘सबैभन्दा पहिले त विजुली चाहियो नि, विजुली नभईकन लोडसेडिङ हट्छ, आज २०८१ सालमा आएर उद्योगमा ८ घण्टा लोडसेडिङ किन गर्नुपर्यो ? हामीसँग ३४ सय मेगावाट विद्युतीय प्रणाली हुँदापनि उद्योगहरुमा यो अवस्था छ । त्यसकारणले हतारमा नेपाललाई लोडसेडिङमुक्त घोषणा गरियो । यो राजनीतिक खपतको लागि मात्रै गरिएको कुरा हो ।’
उनले आफूले प्राधिकरणको नेतृत्व ८ वर्षअघि छोड्दा आफूहरुले बनाईदिएको पूर्वाधारले अहिलेसम्म लोडसेडिङ अन्त्य गर्न धानेको दाबी पेश गरे । उनले यो ८ वर्षमा उर्जा मन्त्रालयको नेतृत्व गरेका र प्राधिकरणको नेतृत्वमा बसेकाहरुले प्राधिकरणलाई पूर्ण रुपमा ‘प्लान होलिडे’ मा राखेको आरोप लगाए । उनले भने,‘यो ८ वर्षको अवधिमा कुलमानको नेतृत्वमा कुनैपनि आयोजना निर्माणमा गएनन् । यो ८ वर्षमा एक मेगावाट जलविद्युतपनि निर्माणमा जान सकेन । विजुलीको उत्पादन हुँदैन भने अनि कसरी लोडसेडिङ मुक्त भयो भनेर भन्ने ? अहिले निजी क्षेत्रबाट विजुली उत्पादन भएको छ । उहाँहरुलाई धन्यवाद भन्नुहोस ।’ आज नेपालको विद्युत प्रणालीलाई कुलमान घिसिङले पूर्णतय भारतमा परनिर्भर बनाएको काफ्लेको गम्भीर आरोप छ ।