काठमाडौं, २ पुस । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङको धनपालथान गाउँपालिका– ३ कर्सीयास्थित रहेको उमागौरी कृषि सहकारी संस्था ठगीमा संलग्न रहेको भनी मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अञ्जालसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सो सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रतिवादी बनाइएका २६ जनामध्ये रोशन राजवंशी पुर्पक्षका लागि थुनामा छन् ।
अञ्जलासहित २५ जना फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । उमागौरीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह रौनियार, सचिव आलम अनसारी मिया, कोषाध्यक्ष शम्भु प्रसाद सिंह, सदस्यहरु आमोदकुमार मण्डल, जितमान ठाकुर, लेखासमितिका संयोजक विजयकुमार यादव, लेखा समितिका सदस्यहरु सुरेन्द्र कुमार राजवंशी, अशोककुमार विश्वास, सञ्चालक समितिकी पूर्व उपाध्यक्ष दिलमाया राई, पूर्व उपाध्यक्ष उपासी राजवंशी, लेखापाल सोनु यादव, पूर्व कर्मचारीहरु मोहमद नजाम उद्दिन, चम्पा गिरी, पूर्व उपाध्यक्षहरु शम्भु प्रसाद सिंह, सन्तलाल खवास, सुमन लोहनी, पूर्व सहसचिव लक्ष्मीदेवी कार्की राजवंशी, पूर्व सदस्य ज्योति बास्कोटा, पूर्व सञ्चालक समिति सदस्यहरु मित्रप्रसाद शिवाकोटी, सरद सिंह, मो.नसरुदिन, मनोजकुमार सोनी र यशोदाकुमारी राजवंशीविरुद्ध आज ३५ दिने अदालती पक्राउ पुर्जी जारी भएको हो ।
योगिता शर्मा बास्तोलाको जाहेरीमा दायर भएको उक्त मुद्दा सहकारी ऐनअन्तर्गतको कसुरमा अगाडि बढाइएको छ
। सो सहकारीबाट २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको अभियोग पत्रमा उल्लेख छ । सो रकम विगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको मागदावी गरिएको छ ।