Logo

देउवा दम्पत्तिलाई ७ दिनभित्र चीनसँग वार्ता गरेर नेपाली भूमि कहाँ मिचेको भनेर वार्ता गर्न भीम रावलको आग्रह



काठमाडौं, ६ पुष । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले चिनियाँ सहयोग परियोजनामा विरोध गर्नुपर्ने विषय नै नभएको स्पष्ट पारेका छन् । उनले भने,‘बीआरआईमा के छ र विरोध गर्नुपर्ने ? अस्ति भएको सम्झौतापनि पढें, त्यसमा के लेखेके छ त ? नेपालको कानूनभन्दा माथि चीनको कानून भनेर लेखेको छ र ? विरोध गर्नको लागि ?’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले चीनसँग नेपालको सिमा विवाद नभएको स्पष्ट पारे । पत्रकार धमलाले चीनसँगपनि नेपालको सिमा विवाद छ नि ? भनेर सोधेको प्रश्नमा रावलले भने–‘कहाँ छ ?’

पत्रकार धमलाले हुम्लामा छ नि ? भनेर राखेको अर्को प्रश्नमा उनले थपे–‘हुम्लामा भए, तपाईंले साह्रै महत्वपूर्ण प्रश्न कोट्याउनुभयो, त्यतिवेला कर्णाली प्रदेशका मुख्यमन्त्रीले त्यहाँ चाहीँ चीनले नेपालको भूभागमाथि चीनले हस्तक्षेप गरेको छ, आदि इत्यादि उहाँले भन्नुभएको थियो । मैले त्यहीबेला के भनेको थिएँ भने मुख्यमन्त्रीले त्यसो भनेपछि माथि तपाईंको प्रधानमन्त्री हुनुहुन्छ, तपाईंको प्रधानमन्त्रीले किन त्यहाँ हेर्दैन भनेको थिएँ, तत्कालिन मुख्यमन्त्री, अहिलेका परराष्ट्रमन्त्री डा. आरजु राणा र कांग्रेसका सभापति शेरबहादुर देउवा तीनै जनालाई एक ठाउँमा राखेर भन्छु, किनभने त्यतिवेला नेपाली कांग्रेसले वक्तव्यपनि दिएको छ । म यहीँबाट सार्वभौम नेपाली जनताको तर्फबाट सोध्न चाहन्छु–चीनले नेपालको अतिक्रमण गरेको जग्गाको सम्बन्धमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, यो सरकारमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत उहाँहरुले तुरुन्त, त्यो जग्गा कहाँ मिचेको हो ? के मिचेको हो ? ७ दिनभित्र, तपाईंको यही सञ्चारमाध्यमबाट भन्न चाहन्छु–अध्ययन गरेर चीनसँग वार्ता गर्नुहोस । कसले रोकेको छ ?’



प्रतिक्रिया दिनुहोस्