काठमाडौं, ११ पुस । सहकारी ठगी प्रकरणका कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेको बयान जारी रहेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा उनको बयान जारी रहेको हो ।
गत कार्तिक २ गते पक्राउ परेका लामिछानेसहित ६३ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दायर गरेसँगै प्रतिवादीहरुको बयान सुरु भएको हो । प्रतिवादीहरुमध्ये छविलाल जोशी र लिला पछाईँको बयान सकिइसकेको छ ।
प्रतिवादीहरुको बयान सकिएसँगै उनीहरुको थुनछेक बहस हुनेछ । थुनथेक बहसबाट लामिछानेसहितका प्रतिवादीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्नेकी धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने टुङ्गो लाग्ने छ ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिईन् । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।