काठमाडौं, १४ पुष । राजनीतिक विश्लेषक डम्बर खतिवडाले भारतको संस्थापन पक्ष अहिलेसम्म नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणमा बोलाउन तयार नभएको टिप्पणी गरेका छन् । उनले भने,‘सत्य के हो भने ईण्डियन स्टाब्लिशमेन्ट चाहीँ ओलीलाई बोलाउन अहिलेसम्म तयार भएको छैन् । जो ओलीको फस्ट प्राइरोटी थियो । उहाँ भारतले मलाई बोलाईहाल्छ, भारतसँग राम्रो सम्बन्ध हुन्छ भन्ने दम्भ राख्नुहुन्थ्यो ।’
आज विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘कुटनीतिमा ईण्डियाविरुद्ध चाईना कार्ड खेल्ने, पाकिस्तान कार्ड खेल्नेजस्तो काममा ओली लाग्नुभएको हो भने, यद्धपी कुटनीतिमा यस्ता भेटघाटका अर्थ त्यही हुन्छ । त्यो यति घातक र आत्मघाती हुन्छ, त्यसको मूल्य स्वयम ओली, एमाले र यो गठबन्धनले चुकाउनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा यो कार्ड खेल्नुहुँदैन् । यो काम गर्नु नै हुँदैन् ।’
उनले भारतलाई माइनस गरेर सार्कको कुनै महत्व नहुने धारणा राखे । भारत यो रिजनको सबैभन्दा ठूलो सुपरपावर भएकोले उसलाई माइनस गर्न नसकिने उनको भनाई छ । भारतलाई देखाईदिनको लागि पाकिस्तान भ्रमण गर्ने हो भने प्रधानमन्त्री ओलीले ठूलो मूल्य चुकाउनुपर्ने खतिवडाको टिप्पणी छ ।
तर, उनले राम्रो सद्भाव राखेर पाकिस्तानको भ्रमण गर्दा आपत्तिको विषय नहुने बताए । उनले अहिलेको केपी ओली नेतृत्वको सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको मूडमा टिकेको दाबी गरे । उनले यो गठबन्धन बनाउँदा देउवा दम्पत्तिबाहेक कांग्रेसका अरू नेताहरु बालकोट नगएको स्मरण गराए ।