काठमाडौं । प्युठानमा जारी प्रथम भित्रिकोट महोत्सव-०८१ स्थगीत भएको छ । सोमबार महोत्सव हेर्न आएका एक जनाको असामयीक निधन भएपछि नगरपालिकाले मेला स्थगीत गरिदिएको हो । प्यूठान नगरपालिका वडा नम्बर १ विजुवारका ६० वर्षीय कमल नेपाली अचेत भएका थिए।
सोमबार मेला हेर्दाहेर्दै बेहोस भएका नेपालीको उपचारको क्रममा साँझ निधन भएको प्यूठान प्रहरीले जनाएको छ । महोत्सव आयोजकले सुरक्षा व्यवस्थालाई ध्यान नदिएको र जनताको जिउ धनको असुरक्षा भएको जनगुनासो बढेपछि महोत्सव स्थगीत गरिएको हो ।
मंगलबार प्यूठान नगरपालिकाका मेयर विष्णुबहादुर योगीले एक विज्ञप्ति जारी गर्दै महोत्सव सञ्चालको लागि दिएको अनुमति रद्द गरिएको जानकारी दिए ।
‘प्यूठान नगरपालिकाले मिति २०११।०९।११ गते त्यस प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रलाई प्यूठान नगरपालिका वडा नं। ७, साविकको विजुवार गाविस २ मा रहेको कित्ता नं। ३६८ मा रहेको जग्गामा मिति २०८१।०९।०५ देखि २०८१।०९।१७ गते सम्म प्रथम भित्रिकोट महोत्सव २०८१ सञ्चालनका लागि अनुमती दिएकोमा जनताको जिउ धनको असुरक्षा, जनगुनासो तथा विभिन्न घटनालाई मध्यनजर गर्दै २०८१।०९।१६ गते देखि लागु हुने गरि महोत्सव लगाउन दिएको अनुमती रद्द गरिएको छ’ नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मेला हेर्न आएका दर्शकको निधनप्रति प्यूठानबाट निर्वाचित संघीय सांसद सूर्य थापाले पनि प्रश्न उठाएका छन् । उनले शान्ति सुरक्षाको व्यवस्था गर्ने जिम्मेवारी नगरपालिका र जिल्ला प्रशासन कार्यालय कसको हो भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन् ‘भित्रीकोट प्युठान महोत्सवमा शान्तिसुरक्षा कायम गर्ने प्युठान नगरपालिका वा प्रशासन वा सुरक्षा निकाय कसको जिम्मेवारी हो ?’ ।