काठमाडौं, १६ पुस । धनुषा जिल्लाको धनुषाधाम–२ मंगलपुरकी श्यामुकुमारी ठाकुरले आफ्नो श्रीमानको हत्यारामाथि कारबाहीको माग गरेकी छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले आफ्नो श्रीमान योगेन्द्र ठाकुरको हत्यामा संलग्न शिवजी यादवलाई उन्मुक्ति दिइएको बताएकी हुन् । श्यामुकुमारीका अनुसार गत २०८१ साउन १४ गते शिवजीसहित ८ जनाले उनको श्रीमानको हत्या गरेका थिए । उनीहरुले घरमै आएर आफ्नो श्रीमानको हत्या गरेको र सो क्रममा आफूसमेत गम्भीर घाइते भएको उनले सुनाईन् ।
त्यसपछि, शिवजीसहित ८ जनाविरुद्ध आफूले किटानी जाहेरी दिएको उनले बताईन् । सो क्रममा अदालतले शिवजीसहित रामपुकार मुुखिया, सूर्य मुखिया र नागेश्वर मुखियालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । श्यामुकुमारीका अनुसार सूर्य र नागेश्वर आमा÷छोरा हुन् । उनीहरुलाई हत्या स्वीकार गर्न लगाएर शिवजी साधारण तारेखमा छुटेका छन् ।
श्यामुकुमारीका अनुसार घटनाको मुख्य नाइके शिवजी हुन् । मृतक योगेन्द्रले शिवजीसँग साढे ३ लाख ऋण लिएका थिए । उनले शिवजीलाई एक पटक ६ लाख, अर्को पटक ३ लाख गरी कूल ९ लाख फिर्ता गरिसकेका थिए । तर, शिवजीले ऋण लिँदाको तमसुक र जग्गा फिर्ता गर्न नमानेपछि योगेन्द्रले उजुरी दिएका थिए । सोही उजुरी गरेको कारण देखाउँदै शिवजीले अनेक धाकधम्कीसमेत दिने गरेको श्यामुकुमारीको भनाइ छ ।
‘शिवजी यादव हाम्रो साहु छ । शिवजी यादवसँग मेरो श्रीमानले साढे ३ लाख रुपैयाँ ऋण लिनुभएको थियो । मेरो श्रीमानले एक पटक ६ लाख, अर्को पटक ३ लाख दिनुभएको थियो । पटक–पटक उसले धाकधम्की दिइरहेको थियो । मोबाइलमा रेकर्ड पनि छ । पटक–पटक गरेर ९ लाख दिनुभएको छ । मेरो ५ कठ्ठा जग्गा पनि लिनुभएको छ । तमासुक बनाएको पनि फिर्ता दिएको छैन,’– उनले भनिन् ।
आफ्नो श्रीमानको हत्याको मुख्य योजनाकार शिवजी नै रहेको श्यामुकुमारीको आरोप छ । शिवजीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने उनको माग छ ।