Logo

‘डेपुटी कमान्डर’ को इन्ट्रीले माओवादीमा खैलाबैला



काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आजबाट सुरु भएको छ । बैठक ३ दिनसम्म चल्नेछ । केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको हो । आजको स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी छन् । यसअघि पदाधिकारी बैठकमा मात्रै उपस्थित हुनेगरेका पासाङ आज स्थायी कमिटी बैठकमा सहभागी भएपछि धेरैले उनी सकृय राजनीतिमा फर्किएको अड्कल काटेका छन् । गत मंसिर १९ गते गणतन्त्र सेनानी कोषले आयोजना गरेको कार्यक्रममा नै उनले आफू सकृय राजनीतिमा आउन लागेको संकेत गरिसकेका थिए ।

जनमुक्ति सेनाका डेपुटी कमान्डरसमेत रहेका पासाङले व्यवस्थाको रक्षाका लागि आफू फेरि रातो मान्छे बनेर उभिन तयार रहेको बताएका थिए । कसैले प्राप्त उपलब्धी उल्ट्याउन चाहन्छ भने त्यसको प्रतिरोध गर्न तयार रहेको भन्दै उनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशी व्यवस्थालगायत उपलब्धी उल्ट्याउने दुस्साहस नगर्न चेतावनीसमेत दिएका थिए ।

‘यो गणतन्त्रको रक्षाका लागि अझ दृढतापूर्वक लड्नुपर्ने जरुरी छ । अहिलेको उपलब्धी कसैले उल्ट्याउन चाहन्छ भने तपाईँ हामी सबै आगो बन्न तयार हुनुपर्छ । म यो गणतन्त्रको योद्धा हुँ । प्रक्रियावादीहरुले जाल, षड्यन्त्र गरेर प्राप्त उपलब्धीहरुलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक समावेशी र यो संघीयतालाई फेरि दायाँबायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु । विगतमा मैले जे–जे गरेँ, त्यो भन्दा नयाँ उचाइबाट मैले नेतृत्व गर्न सक्छु भन्ने साहस मसँग छ,’– उनले सो क्रममा भनेका थिए ।

सक्रिय राजनीतिमा फर्किन वार्मअप गरिरहेका पासाङलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले बतायो । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पासाङलाई सकृय राजनीतिमा ल्याएर उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई साइजमा राख्न खोजेको पनि चर्चा चलिरहेको छ । उसो त प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा भित्र्याउन चाहन्थे । विप्लवलाई शक्तिशाली महासचिव बनाउने र पार्टीलाई थप गति प्रदान गर्ने प्रचण्डको तयारी थियो । तर, विप्लवसँग तत्काल एकताको सम्भावना टरेपछि प्रचण्डले अन्तः पासाङलाई पार्टीमा इन्ट्री गराउन लागेका हुन् ।

स्रोतका अनुसार आजको स्थायी कमिटी बैठक सुरु हुनुअघि पासाङको इन्ट्रीबारे नेताहरुबीच कानेखुसी भएको थियो । पासाङलाई दिइने जिम्मेवारीबारे माओवादीभित्र सबैको चासो बनिरहेको छ । उपाध्यक्ष रहेका कृष्णबहादुर महरा पनि आजको बैठकमा सहभागी छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै उनले यसअघिका केही बैठकहरु बाहिष्कार नै गरेका थिए । ‘पूर्व उपराष्ट्रपतिज्यू स्थायी कमिटी बैठकमा सहभागी हुँदा धेरै नेताहरुले मुखामुख गर्नुभएको थियो । उहाँलाई पार्टीमा दिइने जिम्मेवारीबारे सबैले चासो व्यक्त गरिरहनु भएको छ,’– एक स्थायी कमिटी सदस्यले रिपोर्टर्स नेपालसँग भने ।



प्रतिक्रिया दिनुहोस्