काठमाडौं, २१ पुस । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किएका छन् । उनी नेकपा (माओवादी केन्द्र) को बैठकहरुमा आमन्त्रितको रुपमा सहभागी हुन थालिसकेका छन् । उनलाई उपाध्यक्ष बनाउनेगरी माओवादीभित्र गृहकार्य भइरहेको छ । पासाङ जनमुक्ति सेनाका डेपुटी कमान्डरसमेत हुन् ।
माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेल पनि पासाङ सक्रिय राजनीतिमा फर्किसकेको बताउँछन् । सचिव पौडेलका अनुसार पासाङले पार्टीमा आफूले अहिले नै रिटायर्ड लाइफ बिताउन नचाहेको र सक्रिय राजनीतिमा फर्किन चाहेको प्रस्ताव सुनाएका थिए । उनको प्रस्तावअनुसार अहिले पासाङलाई आमन्त्रित सदस्यको रुपमा बैठकहरुमा बोलाउन थालिएको सचिव पौडेलले बताए । पासाङलाई सकृय राजनीतिमा आउन संविधान र कानुनले नछेकेको पनि सचिव पौडेलले सुनाए । नेता पौडेलका अनुसार पासाङलाई सक्रिय राजनीतिमा ल्याउनेबारे पार्टीभित्र निर्णय नै भइसकेको छ ।
‘उहाँ युवा हुनुहुन्छ । कुनै कानुन, संविधानले आउन हुँदैन भनेर लेखेको पनि छैन । म सकृय हुन्छु, म जागरुक हुन्छु, मेरो उमेर पनि छ, म रिटायर लाइफ बिताउन सक्दिनँ भनेको हुँदाखेरी फेरि जनताको पक्षमा, देशको पक्षमा, पार्टी निर्माणको पक्षमा उहाँले आफूलाई सक्रिय बनाउनुहुन्छ भनेदेखि कहीँ न कहीँ कानुनले नछेकेको हुँदा सक्रिय बनाउनुपर्छ भन्ने पक्षमा हामी छौं । उहाँ आमन्त्रित रुपमा पार्टीको बैठकहरुमा आउन पनि थाल्नुभएको छ,’– नेता पौडेलले भने ।
साथै, पार्टीमा उनलाई के जिम्मेवारी दिने भन्ने बारेमा भने निर्णय भइनसकेको सचिव पौडेलले बताए । ‘के बनाउने भन्ने त केन्द्रीय कमिटीले निर्णय गर्ला । तर, उहाँ सक्रिय राजनीतिमा फर्किने गरी मिटिङमा आमन्त्रितको रुपमा आउनु भएको छ । अरु साथीहरु सरह उहाँले जिम्मेवारी पाउनुहुन्छ । हामीले अब निर्णय गरिसक्यौं भन्दा हुन्छ । उहाँले इच्छा व्यक्त गरेको हुँदाखेरी पार्टी बैठकहरुमा आउन थाल्नुभयो र त्यसलाई निर्णयकै रुपमा बुझ्दा हुन्छ,’– उनले भने । File Photo/RN
यो पनि पढ्नुहोस्ः ‘डेपुटी कमान्डर’ को इन्ट्रीले माओवादीमा खैलाबैला