Logo

ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ



काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पदको दुरुपयोग गरेर गलत गर्ने मन्त्रीलाई मिनेटभरमा कारबाही गर्ने कमिटमेन्ट चाहिएको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस वा एमाले जोसुकैको भएपनि गलत गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्ने बताएका हुन् । उनले युवाप्रति आशा जगाउन र विस्वासको वातावरण सिर्जना गर्न प्रधानमन्त्री ओलीबाट यस प्रकारको कमिटमेन्ट आउनु आवश्यक रहेको बताए ।

‘अहिले हाम्रो सहयोगमा बन्नुभएको प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीबाट के कमिटमेन्ट चाहिएको छ भने कुनैपनि मन्त्री कुनैपनि काण्डमा, अहिले भइरहको मन्त्रीले आफ्नो पदको दुरुपयोग गरेर काम गर्छ भने कांग्रेसको होस् कि एमालेको होस् मिनेटभरमा बर्खास्त गर्न सकियो भनेमात्रै त्यतिखेर सरकारले म शुद्धीकरणको बाटोमा लागेँ भनेको अर्थ रहन्छ । यो विषयमा तपाईँ, हामीले काम गर्नुपर्ने छ,’– उनले भने ।

अहिले नागरिकहरुले नेताहरुको गति र मति ठीक नभएको टिप्पणी गरिरहेको र आगामी २०८४ को निर्वाचनमा जाँदा त्यसलाई चिर्नुपर्ने उनले बताए । त्यस्तै, अहिले नाम चलेका भ्रष्टाचारका काण्ड सबै छानविन हुनुपर्ने र दोषी देखिएको खण्डमा जोसुकै र जतिसुकै शक्तिशाली भएपनि कारबाही गरिनुपर्ने उनको धारणा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नसकेको खण्डमा सर्वशक्तिशाली आयोग बनाएर भएपनि दोषीलाई कारबाही गरिनुपर्ने उनले बताए ।

कांग्रेसको आत्म नै विधिको शासन रहेको दाबी गर्दै उनले पूर्वमन्त्री, प्रधानमन्त्री वा बहालवाला जोसुकै भएपनि दोषी देखिएको खण्डमा छोड्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्