काठमाडौं, ५ माघ । शेर्पा समुदायले नेपाली चलचित्र ‘कार्साङ’ को कथावस्तुमा गलत तथ्य समावेश गरिएको भन्दै आपत्ति जनाएका छन् । शेर्पा चलचित्र संघ नेपालले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चलचित्र ‘कार्साङ’ मा शेर्पा समुदायको संस्कृति, पहिचान र चालचलनको गलत रूपमा प्रस्तुत गरिएको बताएको हो ।
गत पुस २६ गतेदेखि प्रदर्शनमा रहेको ‘कार्साङ’ मा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेखु, दिया मास्के र बुद्धि तामाङको अभिनय रहेको छ । शेर्पा चलचित्र संघले चलचित्रमा समावेश भएको कथावस्तुप्रति आपत्ति जनाउँदै चलचित्रबाट ‘बेस अन शेर्पा कल्चर’ भन्ने पदावली हटाउनुपर्ने माग गरेका छन् । शेर्पा समुदायको संस्कृति र परम्पराको दुरुपयोग भएकोप्रति निर्माता तथा सम्बन्धित निकायले सार्वजनिक रुपमा माफी माग्नुपर्ने उनीहरुको माग छ ।
त्यस्तै, चलिचित्र विकास बोर्डले भविष्यमा कुनैपनि समुदायको पहिचान र संस्कृतिमा प्रत्यक्ष असर पर्ने चलचित्रलाई स्वीकृति दिनुअघि अनिवार्य रुपमा सम्बन्धित सरोकारवाला संस्थाहरुको सहमति लिनुपर्ने शेर्पा चलचित्र संघको माग छ । आफूहरुको माग पूरा नभएको खण्डमा शेर्पा चलचित्र संघले कानुनी कारबाही अगाडि बढाउने बताइएको छ । शेर्पा समुदाय बौद्धमार्गी भएकाले कुनैपनि संस्कृतिमा बली र काटमारको परम्परा नरहेको, छेवार गर्ने चलन नरहेको बताइएको छ ।
त्यस्तै, शेर्पा चलचित्र संघ नेपालले चलचित्र कार्साङ निर्माणका क्रममा कलाकार छिरिङ शेर्पामाथि अन्याय र अपमानजनक व्यवहार भएकोप्रति गम्भीर ध्यानकार्षण भएको बताएको छ । शेर्पा संघ नेपालका केन्द्रीय सल्लाहकार हिमाली कान्छाले चलचित्रमा समावेश भएका गलत तथ्यहरु हटाउनुपर्ने बताए । शेर्पा संघ नेपालका केन्द्रीय सदस्य पेम्बा ग्याल्जेन शेर्पाले चलचित्र शेर्पाहरुको संस्कृतिसँग मेल नखाएको बताए । ‘हामी बौद्धमार्गीहरु काटमारमा विश्वास गर्दैनौं । भाकललगायत यो चलचित्रमा देखाएको जस्तो छेवरजस्तो हामीले अहिलेसम्म शेर्पाको इतिहासमा देखेको छैनौं,’– उनले भने ।
शेर्पा चलचित्र संघ नेपालका केन्द्रीय सदस्य पेम्बा शेर्पाले शेर्पा समुदायमा बली प्रथा र छेवर नरहेको बताए । चलचित्रमा समावेश भएको बली प्रथा गलत रहेको उनले बताए । चलचित्र शेर्पा समुदायसँग सम्बन्धित भनिएपनि मौलिक भेषभुषाको प्रयोग एकदमै कम रहेको उनले बताए ।
चलचित्र कार्साङका निर्देशक यम शेर्पाले आफूले सिन्धुपाल्चोक जिल्लाको यार्सा गाउँको संस्कृतिलाई लिएर फिल्म बनाएको बताए । कार्साङ आफैंमा आफूहरुको कल्चर रहेको उनले सुनाए । भूगोल फरक भएअनुुसार फरक बोलिचाली र रहनसहनलाई शेर्पाको संस्कार, संस्कृति होईन भन्नु गलत हुने उनले बताए । आफूले सिन्धुपाल्चोकको उक्त गाउँमा रहेको शेर्पाहरुको जनजीवनलाई समेटेर चलचित्र बनाएको उनले बताए । ‘चलचित्रमा मैले यार्सा गाउँको वास्तविकता जे छ, त्यही देखाएँ । हाम्रो ठाउँमा त्यस्तो भएर त मैले देखाउने प्रयास गरेँ । छेवार हाम्रो ठाउँमा छ, देवताको नाममा भाले राख्ने चलन छ । अझैपनि छ, मैले त्यही देखाएँ,’– उनले भने ।
आफूले उक्त चलचित्र सम्पूर्ण शेर्पा समुदायको विषय हो भनेर दाबी नगरेको उनले बताए । आफूले जानीजानी कुनै गलत नगरेको निर्माता यम शेर्पाको दाबी छ । भुलवस कसैलाई चोट पुगेको खण्डमा आफू माफी माग्न तयार रहेको उनले सुनाए । ‘हामीले चलचित्र निर्माण चाहीँ एउटा भेगको कथालाई लिएर त्यो ठाउँको जनजीवन, विश्वास पद्धतिहरु देखाउन खोजेको हो । त्यो देखाउन खोज्दा अरु भूगोलमा बस्ने शेर्पा दाजुभाइसँग मिल्ने देखिएन । त्यसले नराम्रो जस्तो म्यासेज गयो । ‘यो चलचित्र सिन्धुपाल्चोक जिल्लाको यार्सा गाउँको संस्कृतिमा आधारित भएर बनेको चलचित्र हो’ भन्ने कुरालाई चलचित्रमा समावेश गर्न आफू तयार रहेको पनि उनले बताए । आफूले त्यस्तो ठूला गलत गरेको जस्तो नलागेको उनले सुनाए ।