काठमाडौं, ७ माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशमा अथाह सम्भावना रहेको सुनाएका छन् । उनले भीर र बगरहरू दुरूह, बञ्जर र व्यर्थ मात्रै नहुने बरु पौरखीहरूले तिनै भीर र बगरमा संभावना र सौन्दर्य भेटाएको भन्दै पवर्तको साहसिक पर्यटनको बारेमा प्रचार गरेका छन् । सो क्रममा उनले जिपलाईनको समेत मज्जा लिएर नारायणगोपालको गीत साझा गरेका छन् ।
ज्ञवालीले फेशबुकमा लेखेका छन्–
भीर र बगरहरू दुरूह, बञ्जर र व्यर्थ मात्रै हुँदा रहेनछन् । पौरखीहरूले तिनै भीर र बगरमा संभावना र सौन्दर्य भेट्दा रहेछन् । साहसिक पर्यटनका लागि आकर्षक गन्तव्यमा रूपान्तरण गर्दा रहेछन् ।
त्यसै गरिरहेका छन् पर्बतको कुश्मामा रहेका The Cliff र Harness Zipline and Adventure Resort ले । बञ्जी, स्विङ्, रोप साइक्लिंग, स्काई क्याफे र १.६ किमी लामो जीपलाइन आदि मार्फत् पर्बतलाई आन्तरिक र बाह्य पर्यटनको केन्द्र बनाउन योगदान गरिरहेका छन् ।
प्रशिक्षण कार्यक्रमको छेको पारेर साथीहरूले स्काई क्याफे र जीपलाइनको रोमाञ्चक अनुभूति समेत गराउनु भयो ।
देशभित्र अथाह संभावना छन् भन्ने कुरा व्यवहारबाटै प्रमाणित गरिरहनु भएका नेत्र पराजुली र सुनिल बानिया लगायत साथीहरूलाई धन्यवाद र वधाइ !
नारायण गोपालको गीत कति सान्दर्भिक छ हगि ?-
‘फाँटहरूले कसलाई पुग्छ, भीरमा पनि फुलिदिन्छु,
हाँसो मात्र कहाँ हुन्छ, पीरमा पनि फुलिदिन्छु !’