चितवन, माघ ८ । नेपालकै पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भक्तबहादुर गुरुङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ। गुरुङ्गको निधन शारदानगर, भरतपुर-१९ स्थित आफ्नै निवासमा भएको हो।
उनले अघिल्लो कार्यकालमा कोषाध्यक्ष र हाल अध्यक्षको भूमिकामा सहकारीको विकासमा अतुलनीय योगदान दिएका थिए ।
उनी शारदा मावि शारदानगरका पूर्वसल्लाहकार र भरतपुर-१९ स्थित पवित्र आर्थिक सुधार बचत तथा ऋण सहकारीका सञ्चालक समितिका सदस्यसमेत रहेका थिए ।
नेपाली कांग्रेस भरतपुर-१९ का मुख्य सल्लाहकार गुरुङ्ग २०१८ सालमा पञ्चायती शासनको विरुद्धमा लाग्दा निर्वासित भएर भारतको नर्कटियागञ्ज बसेका थिए। उनी आम माफी प्राप्त गरेपछि २०२५ सालमा नेपाल फर्केर कांग्रेसको सङ्गठन विस्तारमा सक्रिय रहेका थिए ।
नेपालमा वि.सं. २०१० मा सहकारी विभागको स्थापना र २० चैत २०१३ मा बखान सहकारी दर्ता भएपछि सहकारिताको अवधारणाले औपचारिकता पाएको थियो ।