Logo

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’, प्रधानमन्त्री ओलीले गरे उद्घाटन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गरेका छन् । ओलीले आज भर्चुअल माध्यमबाट सुरुङको उद्घाटन गरेका हुन् ।

चिसोका कारण स्वर भासिएर आराम गरिएको ओली डाक्टरहरुको सल्लाहअनुसार बालुवाटारमै आराम गरेर बसेका छन् ।

चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओली बालुवाटारमै आराम गर्नेछन् भने यी कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम थियो । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित छन् ।

यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो ।

यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।



प्रतिक्रिया दिनुहोस्