Logo

“अहिलेको सरकार विकासका लागि बनेको छ, हामी बनाउँछौं देश”



-केपी शर्मा ओली, प्रधानमन्त्री

हामी विभिन्न खालका सडक सञ्जालहरू, सुरुङ मार्गहरू, झोलुङ्गे पुलहरू, पक्की पुलहरू, हवाइ यातायात, हवाई मार्गहरू, केवलकारहरू लगायत कुराहरूबाट अनेक ठाउँहरूलाई सुगम, रमाइला र विकसित ठाउँहरूका रूपमा परिणत गर्ने छौं ।

आज खुशीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ‘ब्रेक–थ्रु’ गर्न सफल भएका छौं । केही वर्ष अगाडि म बुटबल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारहरूले गीत गाउनुु भएको थियो– कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड ? भनेर । साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो । यो बाटो नबन्दा हरेक वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुःखदायी अवस्था थियो । त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे । त्यो गीत त्यसैकारण उब्जिएको थियो–कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड भन्ने गीत । त्यो जनताको आवाज गीतको रूपमा घन्किएको थियो । जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउथे अथवा आफ्नै भाषामा त्यो भन्थे ।

आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड । अब सुरुङको रूपमा बन्यो । अब पहिरो नजाने र नभत्किने गरी बन्यो । बीचमा कुनै गम्भीर क्षति र नोक्सानी नभइकन बन्यो । सफलतापूर्वक बन्यो ।

म त्यहाँ निरीक्षणमा जाँदा यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र भनेर मान्छेहरू भन्दै थिए । तर हुन्छ, हुँदो रहेछ । सिद्धबाबा खण्डको बाटोलाई सुरुङ मार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ । यस अवसरमा म तपाईंहरूलाई बधाई भन्न चाहन्छुु र सबैलाई शुभकामना भन्न चाहन्छु । बधाई यसकारण कि तपाईंहरू त्यस पीडाबाट मुक्त हुनुभएको छ, शुभकामना यसकारण कि यसको लाभ लिनुस् । यसबाट तपाईंहरूको सहज आवागमन हुन सकोस् । तपाईंहरूका सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्दव्यापार र अरु आर्थिक क्रियाकलापदेखि लिएर चाडवाड सबै कुराहरूको आदान प्रदान सहज हुन सकोस् । आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पुर्याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने कामहरू गर्न सक्नु हुन्छ । अब तपाईंहरू एउटा ठूलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ । यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ब्रेक थ्रु भएसकेपछि, टनेल मार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमि रहने छैन । अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ । त्यसै गरेर कालिगण्डकी करिडोरसँग यो बाटो पर गएर जोडिन्छ । जसबाट सडकको एउटा सञ्जालको रूपमा यसले काम गरेको छ । यसका निम्ति यसमा सहयोगकर्ताहरूलाई, दाताहरूलाई पनि धेरैधेरै धन्यवाद भन्न चाहन्छु ।

छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकोमा ठेकदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छु । यसको मुख्य चुनौतीको पाटो सुरुङ मार्ग थियो, त्यो छिचोलिएको छ ।

मैले धेरै अगाडि, जतिबेला नागढुङ्गा–नौबिसे सुरुङ खण्डको शिलान्यास गर्दै थिएँ, त्यसबेला मैले भनेको थिएँ–अब नेपालमा टनेल युगको प्रारम्भ भयो अथवा हामी नेपालीहरू अब टनेल युगमा प्रवेश गरेका छौं । अब विस्तारै विस्तारै दुर्गम कच्ची पहाडहरू चढ्दै, पहिरो जाने पहाडहरू चढ्दै गाडीहरू घुमाएर मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गरिरहनु पर्ने छैन । धेरै हामी त्यस्ता बाटाहरूलाई छोटा बाटाको रूपमा सुरुङ मार्गबाट ओल्लो बेसीबाट पल्लो बेसी र अझ पल्लो बेसी निकाल्दै सहज ढङ्गले छोटो बाटोबाट टाढाको दुर्गम सहज नहुने गन्तव्यहरू छोटो मार्गबाट पुग्न सक्छौं र त्यो हामी प्राप्त गर्न सक्छौं । पहाडहरूका लागि त्यसबाट सम्पर्क बाटाहरू निर्माण गरेर हामी ती कामहरू गर्न सक्छौं । हामी त्यहाँ लिङ्क रोडहरू बनाउँछौं, रिभर करिडोरहरू बनाउँछौं । नेपालका सबै जिल्लामा अहिले गाडी पुगिसकेको छ । त्यस्तो अवस्थामा नेपाल दुर्गम भन्ने हिजो झैँ रहेन तर यसलाई अझ सुगम बनाउदै लाने छौं । विभिन्न खालका सञ्जालका बाटाहरू, सुरुङ मार्गहरू, झोलुङ्गे पुलहरू, पुलहरू, हवाइ यातायात, हवाई मार्गहरू, केवलकारहरू लगायत कुराहरूबाट हामी अनेक ठाउँहरूलाई सुगम, रमाइला र विकसित ठाउँहरूका रूपमा परिणत गर्ने छौं । त्यसकारण अब नेपाल विस्तारै दुर्गमबाट सुुगम रूपमा, पिछडिएको देशबाट अगाडि बढेको देशको रूपमा, अल्पविकसित देशबाट विकासशील देशको रूपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुँदैछ भन्ने यी कुराहरूले देखाएका छन् ।

म दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, यो खुशी तपाईं हामीको खुशी हो । यो सिङ्गै देशको खुशी हो । यो पाल्पा र रुपन्देहीजस्ता जिल्लाहरूको ठूलो खुशी हो । त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरु जिल्ला यस बाटोबाट सजिलैसँग बुटबल अथवा बुटबलबाट पूर्व–पश्चिम जानका लागि सजिलो हुनेछ । त्यसकारण यो सुरुङ मार्गको विशेष महत्व छ । यो एउटा ऐतिहासिक घटना हो । यो इतिहासमा पहिलो पल्ट भएको सफलताको कुरा हो । त्यसकारण म सबैमा खुशी व्यक्त गर्न चाहन्छु । सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । जसले यसमा काम गर्नुभएको छ, कामदारहरूलाई, मजदुरहरूलाई, इन्जिनियरहरू सबैलाई पनि धन्यवाद भन्न चाहन्छु ।

स्थानीय जनता, जसले यस सुरुङ मार्ग निर्माणका लागि सरकारलाई झक्झकाउने काम गर्नुभयो, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुभएको छ, म उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु । यो हामी सबैको सफलता हो ।

यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरूलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरूलाई चिर्दै जाने घटनाहरूबाट, उपलब्धिहरूबाट जोडिंँदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नु पर्दछ ।

अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तिब्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक सुरु भएका कामहरू अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रूपमा यसले ध्यान दिइरहेको छ । यी कुराहरूमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ ।

तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौं हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौं, हामी अरुको पनि सहयोग लिन सक्छौं, अरुको लगानी आमन्त्रण गर्न सक्छौं, अरुको अनुकूलता, हाम्रो अनुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका ऋणहरू पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौं । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ ।
यो देशसँग अहिले पनि युवा जनशक्ति छ, स्रोत साधन छन्, हाम्रा प्रयासहरू र हाम्रा मित्रहरूका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौं ।

म सबै साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । धन्यवाद तथा शुुभकामना ।
(प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ माघ ११ गते सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रमका अवसरमा भर्चुअल माध्यमबाट गर्नुभएको सम्बोधन) Source: CPNUML



प्रतिक्रिया दिनुहोस्