काठमाडौं, माघ १४ । हाल नेपालमा देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ । तराईमा बाक्लो हुस्सु लागेका कारण पूर्व-पश्चिम राजमार्गमा गुड्ने सवारी साधनलाई कम भिजिविलिटीका कारण आवागमनमै समस्या परेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।