Logo

परराष्ट्रमन्त्रीको स्वकीय सचिव रहेको दाबी, शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी



काठमाडौं, १४ माघ । नक्कली भुटानी शरनार्थी बनाएर अमेरिकका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाल (शिवाकोटी) रहेका छन् । हेमराजले आफूलाई तत्कालीन परराष्ट्रमन्त्रीको स्वकीय सचिव बताएर ठगी गरेको पाइएको छ ।

प्रहरी वृत्त, गौशालाको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा हिजो (आइतबार) मुद्दा दायर गरिसकेको छ । प्रतिवादी हेमराजले नक्कली भुटानी शरनार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि कमानसिंह राईबाट २०७९ वैशाख ११ गते ७ लाख र त्यसपछि पटक–पटक गरी १५ लाख, ७६ हजार ठगी गरेको आरोपपत्रमा उल्लेख छ । सोमध्ये केही रकम हेमराजकी श्रीमती मुनाको खातामा समेत जम्मा गरिएको थियो ।

हेमराजले अमेरिका जान ४५ लाख खर्च हुने बताएका थिए । बाँकी २९ लाख २४ हजार ठीक पारेर राख्न समेत उनले कमानसिंहलाई भनेका थिए । आफूले बाँकी रकम ठीक पारेर हेमराजलाई सम्पर्क गर्दा ‘भुटानी शरणार्थी प्रकरणको मुद्दा चर्केको छ । अहिले तपाईँ चुप लागेर बस्नुस्’ भनी आलटाल गरेको पीडित राईले जाहेरीमा उल्लेख गरेका छन् । अमेरिका नपठाउने भए पैसा फिर्ता दिनुस् भनी माग्दा आफूलाई मार्ने धम्कीसमेत दिएको बताइएको छ ।

जाहेरवाला राईले पैसा दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार थियो । परराष्ट्रमन्त्री डा. नारायण खड्का रहेका थिए । तत्कालीन परराष्ट्रमन्त्री खड्का र प्रतिवादी शिवाकोटीको गृह जिल्ला एउटै (उदयपुर) हो ।



प्रतिक्रिया दिनुहोस्