काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको उपत्यका विशेष र विश्वविद्यालय प्रदेश अन्तर्गत स्थगित भएको मतगणना सुरु हुने भएको छ ।
शनिबार भएको निर्वाचन विवादका कारण दुवै प्रदेशका निर्वाचन समितिले आइतबार संयुक्त विज्ञप्ति जारी गरी अनिश्चित कालका लागि स्थगित गरेको थियो । यी प्रदेशको मतगणना आज मध्यान्ह १२ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
नेतृत्वका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवार चार जना भएपनि मूख्यगरि विजयप्रकाश सापकोटा र हेमन्त राईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
अध्यक्षमा भिडिरहेका सापकोटालाई माओवादी नेतृत्वको समर्थन रहेको बताईएको छ । सापकोटालाई उपमहासचिव शक्ति बस्नेतले उम्मेदवार बनाएका हुन् । उनलाई पूर्व अध्यक्ष पञ्चा सिंह र हिमाल शर्मालगायतले साथ दिएका छन् ।
यता पूर्व मन्त्री सुदन किरातीका स्वकीय सचिव रहेका राईलाई उपमहासचिव जनार्दन शर्माको साथ छ । उनलाई हालै उमेरहद लागू भएर बाहिरिएका केही नेताले साथ दिएका छन् । हेडक्वाटरको समर्थन पाएका सापकोटा र संस्थापनइतर समूहका शर्माले उठाएका उम्मेदवार राईबीचको भिडन्तलाई रोचक रुपमा लिईएको छ ।
पछिल्लो अपडेट अनुसार सात प्रदेश र दुई विषेश प्रदेशमध्ये ७प्रदेशको नतिजा सार्वजनिक भइसकेको छ । मधेशको मतगणना अन्तिम चरणमा पुग्दा विवादका कारण रोकिएको थियो । मधेश प्रदेशको धनुषा जिल्लाको गणना चलिरहँदा खसेको मतभन्दा ४ मत कम पाईएपछि त्यहाँ विवाद भएको थियो । उक्त चार मत सापकोटा समूहले चपाएको दाबी राईनिकटका नेताहरुले आरोप लगाएका थिए । अहिले त्यहाँ पनि विवाद मिलिसकेको छ ।
अहिलेसम्म प्राप्त नतिजा अनुसार सापकोटा २० मतले अघि छन् । सापकोटाले ४८१ मत पाउँदा राईले ४६१ मत पाएका छन् । अब विश्वविद्यालय तथा उपत्यका प्रदेशको मत गणना हुन बाँकी छ ।
अहिलेसम्म सार्वजनिक भएको मत परीणामअनुसार सापकोटाले कोशीमा ५७, मधेसमा ४०, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८५, कर्णालीमा ८०, सुदूरपश्चिममा ७२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । सापकोटालाई पछ्याएका राईले कोशीमा १२६, मधेसमा ४१, बागमती ४८, गण्डकी ३९, लुम्बिनी ६६, कर्णाली ८२, सुदूरपश्चिम ५९ मत पाएका छन् ।