-डा राजेन्द्र कोजु
काठमाडौँ, १४ माघ (रासस) । नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आउने मात्र होइन, स्वास्थ्यमा अनेक समस्या हुने गर्दछ ।
नुन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । जुठो बार्दा नुन नखाने, कतिपय पूजाआजामा अनिवार्य प्रयोग गरिन्छ । यसरी हाम्रो शरीरका लागि अपरिहार्य नुन किन फेरि हानिकारक छ त भन्ने प्रश्न पनि उठ्ने गर्दछ ।
ठिक्क हुँदा ठीक, बेसी हुँदा हानिकारक हुने भएकाले नुनको प्रयोगमा ध्यान दिनुपर्छ । दैनिक कति नुन हाम्रो शरीरका लागि आवश्यक हो त भन्ने कुरा व्यक्तिको जीवनशैली, ठाउँ र स्वास्थ्य अवस्थाले पनि केही फरक पार्न सक्छ । सामान्यतः दैनिक दुईदेखि तीन ग्रामसम्म नुन (सोडियम) सेवन गर्नु उपयुक्त हुन्छ । बढीमा पाँच ग्राममा सीमित रहनेगरी खान सकिने भन्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि भनेको छ ।
मुटुसँगको सम्बन्ध
नेपालमा नुन सेवन र मुटु रोगको सम्बन्ध गम्भीर चिन्ताको विषय बनेको छ । आयोडिनयुक्त नुनले थाइराइड जस्ता रोग नियन्त्रण गर्न सहयोग पु¥याए पनि यसको अत्यधिक सेवनले मुटु रोगलाई निम्त्याउन सक्छ । यहाँका मानिसको जीवनशैली, खानपान र स्वास्थ्य शिक्षाको अभावका कारण नुनको अत्यधिक सेवन र यसको कारणले हुने मुटु रोगका समस्या बढ्दो क्रममा छन् ।
हाम्रो स्वास्थ्यका लागि दुईदेखि तीन ग्राम उपयुक्त हुन्छ तर अधिकांश नेपालीले दैनिक पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्ने गर्छन् । विशेषगरी अचार, तिख्खर खानेकुरा, तथा प्रशोधित खानेकुराहरू जस्तै, लेज, कुरकुरे, चाउचाउ आदिमा उच्च मात्रामा नुन हुन्छ । ग्रामीण क्षेत्रमा प्राकृतिक खानाको प्रयोग भए पनि, सहरी क्षेत्रमा प्रशोधित खाना र फास्ट फुडको लोकप्रियताले नुन सेवनको दर उच्च देखिएको छ ।
नुन र मुटुरोग बीचको सम्बन्ध धेरै अध्ययनहरूद्वारा पुष्टि भएको छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ । अत्यधिक सोडियमले शरीरमा पानी थुप्रिने (पानी धारण गर्ने) समस्या उत्पन्न गराउँछ, जसले गर्दा रक्तचाप बढ्छ । रक्तचापले मुटु र रक्तनलीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ ।
उच्च रक्तचाप (हाइपरटेन्सन) मुटु रोगको प्रमुख जोखिम कारक हो । नेपालमा हृदय रोग मृत्युको प्रमुख कारणमध्ये एक हो । उच्च रक्तचाप र यसका कारण मुटु रोग हुने समस्या नेपालमा तीव्र रूपमा बढ्दै छ । डब्लुएचओका अनुसार, नेपालमा लगभग ३० प्रतिशत वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छ ।
लामो समयसम्म उच्च रक्तचाप रहिरहेमा मुटुको मांसपेशीमा अनावश्यक दबाब पर्छ । यसले मुटुको असमान्य कार्यक्षमता, हृदयाघात र स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । नुनको अत्यधिक सेवनले धमनीहरूलाई सख्त (अथेरोस्क्लेरोसिस) बनाउँछ । यो प्रक्रियाले रक्तप्रवाहलाई अवरुद्ध गर्नसक्छ, जसले मुटुमा अक्सिजनको अभाव गराउँछ ।
धेरै नुन सेवन गर्ने व्यक्तिहरूमा पानी र सोडियमको सन्तुलन बिग्रन सक्छ । यसले मुटुको काम गर्न कठिन बनाउँछ, जसले मुटुको विफलताको सम्भावना बढाउँछ । नेपालमा स्वास्थ्य मन्त्रालयः उच्च रक्तचाप र मुटु रोग नियन्त्रणका लागि केही कार्यक्रम र जनचेतनामूलक गतिविधि गर्दै आएको छ । नुनको उपभोग कम गर्ने रणनीति बनाउन डब्लुएचओले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।
अन्य देशमा नुनको प्रयोग
सामान्यतः अधिकांश देशहरूमा औसत नुन सेवन डब्लुएचओको सिफारिस (पाँच ग्राम प्रतिदिन) भन्दा धेरै उच्च छ । विकसित देशहरूले यसबारे धेरै सुधार गरेका छन्, तर विकासशील देशहरूमा अझै जनचेतना र नीतिगत हस्तक्षेप आवश्यक छ । ती देशहरूमा नुनको प्रयोग जनसङ्ख्या, संस्कृति, खानपान र जीवनशैलीका आधारमा फरक छ । विकसित देशहरूमा नुन सेवनमा कमी ल्याउने प्रयास भइरहेको छभने धेरै विकासशील देशहरूमा अझै अत्यधिक नुन सेवन चुनौतीपूर्ण रहेको छ ।
विश्वका विकसित देशहरूमा नुनको प्रयोग कम गर्न राज्यस्तरबाटै पहलहरु भएको पाइन्छ । अमेरिकी सरकारले नुनको प्रयोग कम गर्न जनचेतना अभियान र खाद्य उद्योगमा नयाँ मापदण्ड लागू गरिरहेको छ । ल्याटिन अमेरिका मुलुकहरु ब्र्राजिल, मेक्सिको, अर्जेन्टिनाजस्ता देशहरूमा औसत नुन सेवन उच्च (८–११ ग्राम प्रतिदिन) छ ।
बेलायत, फिनल्यान्ड, डेनमार्कलगायत युरोपेली देशहरूमा नुन सेवन कम गर्न ठूला अभियान सञ्चालन गरिएको छ । बेलायतमा नुन सेवन कम गर्न पब्लिक हेल्थ इङ्ल्यान्डले फुड म्यान्युफ्याक्चरर्सलाई प्रशोधित खानामा नुन घटाउन निर्देशन दिएको छ । फिनल्यान्डः फिनल्यान्डले १९७० को दशकदेखि ‘लो–सोडियम खाना’ को प्रवद्र्धन गरेर नुन सेवनलाई ३० प्रतिशतले कम गरेको छ । सरकारले जनचेतना र ‘लो–सोडियम सोया सस’ को प्रवद्र्धन गरेर सुधार गर्ने प्रयास गरेको छ ।
छिमेकी मुलुक चीनमा औसत नुन सेवन १०–१२ ग्राम प्रतिदिन रहेकाले त्यसलाई घटाउन सरकारले जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । भारतीयहरूको औसत दैनिक नुन सेवन ८–१० ग्राम गरिरहेका छन् । सरकारको ध्यान आयोडिनयुक्त नुन प्रवद्र्धनमा केन्द्रित रहेकाले, नुन कम गर्ने पहल भएको देखिँदैन । स्वास्थ्य शिक्षाको कमीले गर्दा अधिकांश अफ्रिकी देशहरूमा नुन सेवनको स्तर उच्च छ । भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काका ग्रामीण र सहरी क्षेत्रमा नुनको अत्यधिक प्रयोग देखिन्छ ।
कसरी स्वस्थ्य हुने त ?
नुन र मुटु रोगबीचको सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । प्रशोधित खाना, जस्तैः चिप्स, तयारी खाना (जङ्क फुड), डिब्बामा बन्द गरिएका खाना आदिमा सोडियम धेरै हुनेहुँदा यस्ता खानेकुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ । नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ । यदि तपाईंमा मुटु रोग वा उच्च रक्तचापको इतिहास छभने चिकित्सकसँग परामर्श गरेर नुन सेवनको उचित सीमा निर्धारण गर्नु अत्यन्त महत्वपूर्ण छ ।
घरमा खाना पकाउँदा नुनको मात्रा नियन्त्रण गर्नु र बाहिरका प्रशोधित खानेकुरा कम गर्नुपर्छ । यसका लागि धेरै किसिमका तरकारीको सट्टा एक वा दुई किसिमका तरकारी वा दालको प्रयोग गर्ने, सागपातहरुमा नुनको प्रयोग नगर्ने, एउटा तरकारीमा नुन राखेमा अर्कोमा नराख्नेजस्ता तरिका पनि अपनाउन सकिन्छ ।
नियमित रूपमा रक्तचाप जाँच गर्न र मुटु रोगको प्रारम्भिक उपचार सुनिश्चित गर्ने गरिएमा मुटुजन्य स्वास्थ्य समस्या आउन पाउँदैन । स्थानीय, ताजा र सन्तुलित खाना खाने बानी बसाल्नु, व्यायाम गर्नु र धुम्रपान तथा मद्यपान त्याग्नु जरुरी छ ।
निष्कर्ष
नुन र मुटु रोगको समस्या समाधानका लागि व्यक्तिगत, सामाजिक, र सरकारी तहमा सुधारात्मक कदम उठाउन आवश्यक छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि नुनको मात्रा घटाउन खाद्य उद्योगलाई मापदण्डअनुसार उत्पादन गर्न निर्देशन दिनुपर्ने देखिन्छ । कम नुन खाएर, स्वस्थ जीवनशैली अपनाएर र जनचेतना अभिवृद्धि गरेर यस समस्या नियन्त्रण गर्न सकिन्छ । बालबालिकाहरुलाई घरमा नुनको अधिक सेवनको बेफाइदाबारे जानकारी दिने र विद्यालयमा पनि तयारी खानालाई निषेध गर्ने तथा पाठ्यक्रमहरुमा यसबारेमा वियषयवस्तुहरु समावेश गर्न आवश्यक छ ।