काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे विरोधीहरुले अनावश्यक हल्ला फैलाएको गुनासो गरेका छन् ।
सोमबार सूर्यविनायक नगरपालिका कार्यपालिकाको प्रशासकीय भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई रुघा लाग्दा पनि आईसीयूमा राखेको भेन्टिलेटरमा राखेको तस्बीर सार्वजनिक गर्ने गरिएको गुनासो गरेका हुन् ।
‘मलाई रुघाखोकी अलिक नराम्रोसँग लाग्यो । तर, मलाई रुघाखोकी यसो के हाच्छ्यु गरेको देख्यो भने आईसीयूको भेन्टिलेटरमा राखेको, आईसीयूमा अक्सिजन माक्स लगाएको फोटो आईहाल्छ । तपाईहरुले पनि देख्नुभयो होला । तपाईहरुले पनि सुन्नुभयो होला । मलाई रुघा लागेको थियो । अहिले पनि राम्ररी निको भइसकेको छैन् । एन्टिबायोटिक खाँदा अलिक विक बनाएको छ । कमजोर बनाएको छ । कुरा त्यति हो’ उनले भने ।
ओलीले जे आशले साथीहरुले भ्रम फैलाएको भएपनि त्यो नपुग्ने बताए । ‘जे आशमा साथीहरुले ती तस्बीर देखाउँछन् । तर, त्यो पुग्नेवाला छैन् । त्यतापट्टी अहिले म जान चाहन्न’ ओलीले भने ।
चिसोका कारण तीन चार दिनदेखि बालुवाटारमा आराम गरिरहेका ओली आजबाट मात्र सार्वजनिक कार्यक्रममा जान लागेका हुन् । यसअघि चिकित्सकको सल्लाहमा ओली चार दिनसम्म आराम गरेर बसेका थिए ।