Logo

प्रचण्डलाई ओलीको जवाफः ‘सरकार ढाल्छु’ भन्दै छाती पिट्नु र कपाल लुछ्नुको कुनै अर्थ छैन



काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्छु भन्दै छाती पिट्नु र कपाल लुछ्नुको कुनै अर्थ नरहेको बताएका छन् । आज (सोमबार) सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुई तिहाइ बहुमतको नजिक रहेका दुई ठूला दलको सरकार कसैले चाहँदैमा नढल्ने बताएका हुन् । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै उनले भने सरकार ढल्छ भन्दै विलौना गाउनुको कुनै अर्थ नरहेको बताए ।

ं‘म भन्न चाहन्छु, सबैले सुन्नेगरी–आजै ढल्छे, भरे नै ढल्छ, भोलि नै सरकार ढल्छ भन्ने यो छाती पिटाइ, यो कपाल लुछाई, आफ्नै छाती पिट्ने, आफ्नै कपाल लुछ्ने जुन चलिराखेको छ, यो विलौनाको केही पनि अर्थ छैन । झण्डै दुई तिहाइ बहुमतका दुईवटा पार्टीले संकल्प गरेका छन् । अब देशलाई यो प्रकारको खेलवाडबाट गुज्रिन दिन सकिँदैन । अब देशलाई स्थायित्व, स्थिरता दिएर विकसित देश बनाउन लाग्नुपर्छ,’– उनले भने ।

प्रचण्डले चक्लेट देखाउँदैमा कांग्रेस–एमाले हात थाप्न नजाने उनको भनाइ छ । आफूले र शेरबहादुर देउवाले प्रचण्डलाई छोडेरै आएको ओलीले बताए । ‘अस्तीसम्म त भन्दै हुनुहुन्थ्यो त– मैले तपाईँ प्रधानमन्त्री लिनुस् भनेको नमानेर जानुभयो भनेर । त्यस्तालाई साथ लिएर प्रधानमन्त्री चलाएर के गर्नु ? बन्छ देश ? त्यस कारण प्रधानमन्त्री चाहिँदैन भनेर मैले छोडेको हो ।’

साथै, नेपाल नै रहन्छ कि रहँदैन भन्ने अवस्था आएपछि दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको ओलीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीलक्षित गर्दै उनले भने भने, ‘अहिले दुईवटा प्रतिस्पर्धी भनिएका पार्टीहरु किन मिलेर जानुपर्यो ? यस कारण कि देश साँच्चै अप्ठ्यारोमा पर्यो । देश नै रहन्छ कि रहँदैन ? प्रणाली नै रहन्छ कि रहँदैन ? यस्तो खालको स्थितिमा देश पुगिसक्यो । अनि अनेकथरी तत्वहरु, यो देश त तमासा जस्तो भयो । यताबाट फुत्त निस्किएर एउटा झिल्केले चटकबाजी देखाउँछ । के–क भन्छ, उफ्रिन्छ, मिडियाबाजी गर्छ, अनेक गर्छ, हो न हो पार्छ, अर्को उताबाट निस्किन्छ, त्यसै गर्छ । देश बनाउनु कुनै ख्याल ठट्टाको कुरा हो र ? मजाकको कुरा हो र ?’

प्रधानमन्त्री ओलीले स्थायित्व र सुशासनका लागि कांग्रेस–एमालेको सरकार बनेको बताए । उनले वर्तमान सरकारले संविधान पनि संशोधन गर्ने बताए । सहमति भएको खण्डमा तत्कालै पनि संविधान संशोधन हुने उनले बताए । ‘संविधान पनि हामी संशोधन गर्छौं । तर, कतिबेला भन्न सकिँदैन । सहमति भए तुरुन्तै पनि हुन्छ । सहमति नभए अलिकति समय लाग्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्