काठमाडौं । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनको कार्यभार सम्हाल्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आइलागेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका-४ जारी गर्दै एमाले र माओवादी केन्द्रले कम्युनिष्ट आन्दोलन अगाडि बढाउन नसक्ने निष्कर्ष प्रस्तुत गरेका हुन् । माओवादी र एमालेको बारेमा लेखेका नेपालले नेपाली कांग्रेस लगायतका दलबारे भने केही उल्लेख गरेका छैनन् ।
‘एमाले सैद्धान्तिक जडता र विसंगतिबाट संगठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख हुँदै गरेको अवस्थामा त्यसको नेतृत्व सरकार र सार्वजनिक जीवनमा पनि बदनाम हुँदै गएको छ’ अपानिमा भनिएको छ ‘माओवादी केन्द्र० मा सैद्धान्तिक गतिरोध जस्ताको तेस्तै छ । आजकै अवस्था रहन दिनु कम्युनिष्ट आन्दोलनका लागि खतरनाक हुन सक्छ’ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन दुस्चक्रमा फसेको उल्लेख गरेका छन् । ‘अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ हो भन्ने हाम्रो विश्लेषण झनपछि झन पुष्टि हुँदै गएको छ । त्यसका अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ । त्यसले हाम्रो पहलकदमीका लागि अनुकुलता नै थपेको छ’ माधवले जारी गरेको अपानिमा भनिएको छ ।
प्रतिक्रिया