काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको मंसिरमा मात्र वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने दाबी गरेका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकमा ओलीले दिनहुँ सरकार ढल्छ भनेर हल्ला फैलाईएको तर, सरकार ०८४ सालसम्म टिक्ने दाबी गरेका हुन् ।
‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ । अलिक भरेसम्म सरकार ढल्छ । साँझसम्म त सरकार ढल्छ, ढल्छ । राति नै ढल्छ अथवा भोलि बिहानै सरकार ढल्छ । ढलेन भने दिउँसोसम्म सरकार ढल्छ । भोलि ढलेन भने पर्सिलाई सारिदिने । पर्सि भएन भने अर्को हप्तालाई सारिदिने,’ प्रधानमन्त्री ओलीले भने, ‘यो महिना ढलेन भने अर्को महिनलाई सार्ने । साउनमा सरेन भने भदौमा सार्ने । भदौमा पनि ढलेन भने दशैंलाई सार्ने । दशैंमा पनि ढलेन भने मंसिरमा सार्ने । कुन मंसिरमा ? ०८४ मंसिरमा सरकार ढल्छ । के परिणाम आउँछ त्यस अनुसार सरकार ढल्छ । तर, मान्छे धेरैले अस्तिको मंसिरमा भन्ने बुझे । ०८४ को मंसिरभन्दा यता सरकारमाथि लगाउने आरोप मात्रै हो ।’
बैठकमा ओलीले संसद्मा पूरा समय बस्न र समितिको बैठकमा दिनहुँ जान पनि निर्देशन दिएका छन् । ‘समितिहरुमा हाम्रो उपस्थिति तुलनात्मकरुपमा राम्रो छ, तुलनात्मकरुपमा मात्रै राम्रो छ,’ ओलीले भने, ‘त्यसकारण संसद्मा, समितिका बैठकहरुमा हाम्रो उपस्थिति पुरा समय हुनुपर्दछ। र, कुनै पनि कुरा गलत ढंगले पारित भएर जानु भएन। अनुपस्थित भइयो भने के पारित हुन्छ, के पारित हुन्न।’