काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने बताउँदै अरूलाई पनि थाहा पाएसम्म गर्न नदिने बताएका छन् ।
काठमाडौंमा आज युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन गर्दै ओलीले ‘स्टन्ट’ बाजीबाट देश नचल्ने देश बनाउनका लागि काम गर्नुपर्ने बताए । ओलीले भने ‘भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको कुरा गर्दा कसलाई धक्का पर्ला । तर अहिलेको सरकार र म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि थाहा पाएसम्म गर्न दिन्नँ । भए नियन्त्रण गर्छु ।’
उनले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने धारणा राख ।
“संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरु त्यसअनुसार चल्नुपर्छ । सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु ।”
नेपाल बार एसोसियसनले पहिलोपटक आयोजना गरेको सम्मेलनमा देशभरका आठ सय हाराहारीमा युवा कानून व्यवसायी सहभागी छन्। सम्मेलनमा ४० वर्षभन्दा कम उमेर समूहका कानून व्यवसायीलाई निःशुल्क सहभागी गराइएको छ भने ४० वर्षभन्दा बढी उमेर समूहका कानून व्यवसायीलाई एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।