Logo

विद्या भण्डारी आफैं राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन, त्यो राम्रो पनि होइनः प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने बताएका छन् । बुधबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भण्डारी राजनीतिमा आउने कुरामा आफूलाई विश्वास नलागेको बताए ।

‘एमालेमा पनि केही चर्चा बजारमा सुनिएको छ, तर विद्या भण्डारी आफै नै राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन त्यो राम्रो पनि होइन’, उनले भने, ‘ सामान्य अवस्था एमालेलेमा त्यो संभव मैले देख्दैन, असामान्य अवस्थामा तत्काल सल्लाह हुने कुरा फरक हो, अध्यक्षको प्रतिस्पर्धा गर्ने गरी आउने भन्ने कुरा सत्य होइन अनुमान मात्रै हो ।’

तत्कालीन नेकपा एमालेकी उपाध्यक्ष रहेकी पूर्व राष्ट्रपति भण्डारी फेरि सक्रिय राजनीतिमा फर्किने तयारीमा छिन् । एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको निकटमा रहेरै काम गर्दै आएकी भण्डारी अब भने ओलीलाई नै टक्कर दिनेगरि राजनीतिमा आउने तयारीमा छिन् ।

पहिलोपल्ट २०७२ कात्तिकमा र त्यसपछि २०७४ फागुनमा राष्ट्रपति बनेकी भण्डारी नियमित दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतल निवासबाट बिदा भएकी थिइन् । त्यसको केही समयपछि उनी पुनः सक्रिय राजनीतिमा फर्कने तयारीमा लागेकी हुन् । केही साताअघि गण्डकी प्रदेशको भ्रमणमा गएकी भण्डारी हाल कोशी यात्रामा छिन् । कोशी प्रदेशबाटै राजनीतिमा पाइला चालेकी भण्डारी त्यहाँको माहोल बुझेर थप रणनीति तयार गर्ने योजनामा छिन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट एमालेमा हेपिएका, पेलिएका, थिचिएका र अवसरबाट बञ्चित पारिएका केही नेताहरू भण्डारीले अब पार्टीको नेतृत्व गरुनँ भन्ने पक्षमा छन् । उनीहरू जसरीपनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर अध्यक्ष र पहिलो महिला प्रधानमन्त्रीसमेत बनाउन चाहन्छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका शीर्ष नेताहरु पनि भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

कुनै समय ओलीको सबैभन्दा निकट मानिने नेताहरु गोकुलप्रसाद बाँस्कोटा र कर्ण थापासमेत भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा दृढ भएर उभिएका छन् । विगतमा अवसर पाएका धेरै नेताहरू पछिल्लो समय ओलीसँग असन्तुष्ट छन् । पूर्वमुख्यमन्त्री शेरधन राईदेखि ओलीसँग ज्वाईँ नाता जोडेर मन्त्रीसम्म बन्न भ्याएका कर्ण थापासमेत ओलीकै विरुद्धमा उभिएका छन् । कोशी प्रदेश अध्यक्षमा हारेका विनोद ढकालदेखि भण्डारीकै जोडबलमा राष्ट्रिय सभा सदस्य हुँदै परराष्ट्रमन्त्रीसमेत बनेकी डा. विमला राई पौड्यालसमेत निरन्तर भण्डारीलाई पार्टी राजनीतिमा फर्काउन सक्रिय छन् ।

भण्डारी स्वयंपनि विभिन्न बहानामा पार्टी राजनीतिमा फर्किन सक्रियता देखाइरहेकी छन् । गत वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसमा एमालेले प्रदान गरेको “गणतन्त्र गौरव” सम्मान थापेकी भण्डारी त्यसयता एमालेका विभिन्न भातृ संगठनहरुले आयोजना गरेको कार्यक्रमहरुमा प्रमुख अतिथिको रूपमा देखा पर्न थालेकी छन् । राष्ट्रपति हुँदासमेत नेकपा र एमाले विभाजन हुन नदिन शीतलनिवासबाटै सक्रियता देखाएकी भण्डारी अहिले राजनीतिमा फर्किएर सके पुरानै नेकपा व्यूताउने र नभएपनि एमालेलाई पुनर्गठन गर्ने ध्येयमा छिन् । यसका लागि उनी निरन्तर पोलिटिकल-वार्मअप गरिरहेकी छन् ।



प्रतिक्रिया दिनुहोस्