Logo

अध्यादेशबारे ओली: काम गर्ने हुटहुटी बोकेर बनेको सरकारसँग संसद्को अधिवेशन आउँदैछ पर्खनुस् भन्ने समय थिएन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्ने हुटहुटी बोकेर बनेको सरकारलाई तत्काल केही गर्न आवश्यक पर्दा संसद् अधिवेशन कुर्ने अवस्था नहुँदा अध्यादेश ल्याईएको प्रष्टीकरण दिएका छन् ।

आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले काम गर्ने हुटहुटी बोकेर बनेको संसद्को दुई ठूला दलको सरकारलाई संसद्को अधिवेशन आउँदैछ पर्खनुस् भन्ने समय नभएको दाबी गरेका छन् ।

‘हामीले सुन्दै आएका छौं । सार्वजनिक काममा ढिलो भयो । त्यही अवस्थामा परिवर्तन ल्याउन कानूनी उल्झन फुकाउन कानून सुधार नै पहिलो पाइला थियो । नियमित प्रक्रियाबाट एउटा कानून पारित गरि न्यूनतम ५।६ महिना लागेको हामी सबै जानकार नै छौं । एकातिर प्रक्रिया अर्को तिर नजिता । सुधारको जुन हुटहुटीले संसद्को ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बय्यो त्यसले संसद्को अधिवेशन आउँदैछ पर्खनुस् भन्ने समय हामीसँग थिएन’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले संसद्को अधिवेशन नभएको बेला तत्काल काम गर्न आवश्यक पर्दा अध्यादेश ल्याउन पाउने संवैधानिक हक रहेको पनि स्मरण गराएका छन् । ‘संसद् नभएको बेला संसद्को नियमित प्रक्रियाबाट राष्ट्रिय अपेक्षा प्राप्तीमा ढिला हुने अवस्था यस्तै बेलामा त हो सरकारले अध्यादेश जारी गर्ने । हामी सबैले एउटा कुरा स्वीकार गर्न अप्ठ्यारो मान्नु हुँदैन । कतिपय अवस्थानमा संसद्लाई लाभ हानीको बन्दी बनाइन्छ र जनताको दैनान्दिन समस्या ओझेल पर्छन् । हामीले यसपटक त्यसो हुन नदिउँ भन्ने ठान्यौं’ ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्