काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई टेलिफोन गरेका छन् । सोमबार केन्द्रीय कार्यकारिणी समितिको सोमबारको बैठक जारी रहेका बेला ओली र देउवाले यादवलाई फोन गरेका हुन् ।
ओली र देउवाले सरकारले ल्याएको अध्यादेशलाई सघाउन भन्दै फोन गरेका हुन् । देउवा र ओलीको फोनपछि उपेन्द्रले अध्यादेश स्वीकार गर्ने कि अस्वीकार गर्ने भनेर अध्ययन गर्नका लागि कार्यदल गठन गरेका छन् ।
सांसद राजकिशोर यादवको संयोजकत्वमा अध्यादेश अध्ययन कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले मंगलबारसम्म अध्यादेशबारे अध्ययन गरेर प्रतिवेदन दिनेछ । त्यसपछि संसदीय दलको बैठक बसेर निर्णय लिइने तयारी छ । जसपा, नेपालले मंगलबार संसदीय दलको बैठक सिंहदरबारमा बोलाएको छ ।
प्रतिनिधिसभामा एमाले र कांग्रेस सत्ता गठबन्धनको प्रस्ट बहुमत भए पनि राष्ट्रिय सभामा बहुमत छैन । अध्यक्षसहित ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमत पुर्याउन ३० सांसदको समर्थन चाहिन्छ ।
राष्ट्रिय सभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् । विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् । अध्यादेशको आयु लम्बिने वा सकिने भन्नेमा ३ सिटको जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएपछि देउवा र ओलीले चासोकासाथ फोन गरेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया