काठमाडौं, २४ माघ । त्रिभुवन विश्वविद्यालय सिनेट बैठकको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएका छन् । नेपाल ल क्याम्पस स्ववियू अध्यक्ष एवं विश्वविद्यालय सभा सदस्य विष्णु ढुङ्गेल, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसका स्ववियू अध्यक्ष एवं विश्वविद्यालय सभा सदस्य श्याम राज ओझा र पुल्चोक क्याम्पसका स्ववियू अध्यक्ष एवं विश्वविद्यालय सभा सदस्य विराज अर्यालले सिनेट बैठकको माग गर्दै उपकूलपति प्रा.डा. केशरजंग बरालमार्फत प्रधानमन्त्री ओलीको ध्यानाकार्षण गराएका हुन् । विश्वविद्यालयको कूलपति प्रधानमन्त्री रहने व्यवस्था रहेको छ ।
आफूहरुले विगतदेखि नै उठाउँदै आएको विद्यार्थीका विभिन्न माग र मुद्दाहरुबाट विश्वविद्यालय भाग्न खोजेको उनीहरुको आरोप छ । विद्यार्थीका मुद्दालाई तत्काल सम्बोधन गर्न फागुनको पहिलो हप्तामा सिनेट बैठक आह्वान गर्न उनीहरुले माग गरेका छन् । सिनेट बैठक आह्वान नगरिएको र विद्यार्थीका जाहेज माग सम्बोधन नभएको खण्डमा संघर्षका कार्यक्रम अगाडि बढाउने चेतावनीसमेत दिइएको छ ।
‘विगतदेखि नै हामीले उठाउँदै गरेको सर्वविदितै छ। तर आंशिक विषय सुनी मूल मुद्दाबाट विश्वविद्यालय भाग्न मिल्दैन। त्यसैले विद्यार्थीका मुद्दालाई तत्काल हल गर्न फागुन महिनाको पहिलो हप्तामा सिनेट बैठकको आह्वान गर्न त्रिवि उपकुलपति मार्फत कूलपतिज्यूको ध्यानाकार्षण गराउँदछौँ। यी घटनाक्रम हेर्दा विश्वविद्यालय विद्यार्थीका मागहरुलाई सम्बोधन गर्न कत्तिको जिम्मेवार रहेको छ भन्ने देखाउँछ। साथै अब पनि विद्यार्थीका मुद्दामा विश्वविद्यालयले यस्तै हर्कत जारी राखेमा थप संघर्ष गर्न बाध्य हुनेछौँ,’– ध्यानाकार्षण पत्रमा भनिएको छ ।

प्रतिक्रिया